काठमाडौं, १ मंसिर–सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ । त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनमा बुधबार दिउँसो हुने एक समारोहकाबीच ई–पासपोर्ट जारी गर्ने तयारी विभागले गरेको छ ।
मेशिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई–पासपोर्ट जारी गर्न लागिएको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । त्रिपुरेश्वरमा दिउँसो हुने एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम छ ।
महानिर्देशक अर्यालका अनुसार ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् ।
त्यसैगरी ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको अर्यालले जानकारी दिए । पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।
पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ । अरू प्रकारका पासपोर्ट आगामी जनवरीदेखि मात्रै जारी हुने अर्यालले बताए । विभागले सुरुका केही दिन सीमित मात्रै ई–पासपोर्ट वितरण गर्ने तयारी गरेको छ ।
मेशिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ । सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउने अर्यालले बताए । विभागले २० लाख ई-पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।
के हो ई–पासपोर्ट ?
ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ । चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण हुन्छन् । यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैन ।
मेशिनले पासपोर्ट धनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने अर्यालले बताए । अर्यालका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ ।
उक्त मेशिनमा एक पटक त्यस्तो पासपोर्ट प्रयोग भएपछि त्यही पासपोर्ट अर्को व्यक्तिले प्रयोग गरे मेशिनले रोकिदिन्छ । त्यसैले कसैको पासपोर्टमा हुलिया परिवर्तन गरी हिंड्ने सम्भावना पनि न्यून हुने अर्यालले बताए ।
