काठमाडौं, ७ मंसिर–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले आफूलाई चुनौती नदिएको बरु सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।

आज सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले बढी खट्दा थकाइ लाग्यो होला भन्ने ठानेर नेता रावलले ‘म अध्यक्षमा उठ्छु’ भनेको बताए । उनले भने, ‘रावलजीले मलाई चुनौती दिएको होइन, बढी खट्दा थकाइ लाग्यो कि माया लागेर म उठ्छु भनेको हो । उहाँको सम्मानजनक सुझावबाट म प्रभावित छु ।’ उनले आफू अध्यक्षमा नउठोस् भन्ने पार्टी बाहिर पनि रहेकोले सामान्य रुपमा लिएको बताएका छन् ।

उनले भने, ‘रावलजीले मप्रति स्नेहभाव देखाउनु भएको छ ।’ उपाध्यक्ष रावलले आइतबार एमाले महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । ‘मलाई निर्विरोध छाड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ’, रावलको सोही घोषणालाई लक्षित गर्दै ओलीले थपे, ‘एमालेमा जोर जुलुम करकाप हुँदैन, उठ्न पाइन्छ ।’

चुनौती र निर्विरोध लोकतन्त्रकै अभ्यास भएको भन्दै ओलीले आफूले कसैलाई नउठून् भनेर दबाब नदिने बताए । ‘मैले उठ्ने नउठ्ने कुनै निर्णय गरेको छैन, उठ्ने भएँ भने कसैलाई नउठ्नु भन्दिनँ’, उनले थपे, ‘मैले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव दुवै या त निर्विरोध हुन्छ या त धेरै मत ल्याएर जित्छ ।’ प्रतिनिधिले मन पराएकोलाई परिणाम आएपछि मन पराउने पनि उनले खुलाए ।

अरूको हकमा पनि पार्टीभित्र एकता रहेको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई नजरअन्दाज गर्न नसकिने बताए । ‘सहमति भए राम्रो तर सहमति हुँदैन भने म मिल भनेर करकाप गर्दिनँ’, ओलीले थपे, ‘अरूको अवसरमा म भाँजो हाल्दिनँ । म निर्वाचित भएँ भने सबैको अध्यक्षको व्यवहार गर्छु, यो मन परेको मन नपरेको भन्ने छैन, मेरा लागि सबै समान ।’

माधव नेपाललाई ओलीको कटाक्ष स् चोइटिएर एमाले नेता घटेका छैनन्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका दावी गरेका छन् । ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरूसँग उनले भने । आउने चुनाव पछि एमालेले सरकार चलाउने उनको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *