चितवन, ८ मंसिर–नेकपा (एमाले) को १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल चितवनको नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।
उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको एमालेले जनाएको छ । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैंडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । ‘मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैंडा निर्माण गरिने छ,’ उनले भने, ‘त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ ।’
यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख खर्च हुने अनुमान गरिएको एमालेले जनाएको छ । महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्वीर राखिने छन् ।
मदन भण्डारी, भिआई लेनिनका तस्वीर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिए । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनले बताए । यसका लागि चार लाख खर्च हुने अनुमान गरिएको छ ।
यस्तै एमालेको १०औं महाधिवेशनको लोगो गैंडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि एक लाख खर्च हुनेछ । यो फाइबरको बन्ने छ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठको दाबी छ ।
मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको उनले बताए । उद्घाटन सत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट डोरीको छेकबार निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।
एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । सो महाधिवेशन उद्घाटन सत्रमा पाँच लाखको सहभागिता रहने नेकपा एमालेले जनाएको छ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ ।
