सल्यान, १० मंसिर–सल्यानमा आफ्नै देवरको हत्या आरोपमा प्रहरीले दुई भाउजुलाई पक्राउ गरेको छ । सल्यानको शारदा नगरपालिका-५ रानीकोट गैरागाउँ निवासी अन्दाजी ३३ वर्षीय शेरबहादुर चन्दको शव फेला परेपछि प्रहरीले शारदा नगरपालिका-५ निवासी मृतकका भाउजु २६ वर्षीया लक्ष्मी चन्द र अर्की भाउजु नाता पर्ने राधा पौडेल चन्दलाई पक्राउ गरेको हो ।
शव घरदेखि करिब ५० मिटर पश्चिममा फेला परेको हो । टाउकोमा धारिलो हतियार प्रयोग भएको र आधा शरीर जलेको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्यामप्रसाद यादवले जानकारी दिए ।
बलात्कार प्रयास गरेपछि घटना घटेको आरोप
शारदा नगरपालिका–५ निवासी लक्ष्मी चन्द र मृतक देवर एउटै घरमा बस्छन् । दुई तलाको माटो र ढुंगाले छाएको कच्चीघरमा दुई दाजुभाइको परिवार सँगै छ । सासु–ससुरा पनि सँगै छन् । तर, घटना भएको दिन भने उनीहरु बर्दिया गएका थिए ।
मृतककी पत्नी माइत गएको र दाइ रोजगारीको सिलसिलामा विदेशमा रहेको स्थानीयले जानकारी दिएका छन् । घटना भएको दिन बिहीबार बेलुका सबैले सँगै खाना खाएका थिए । करिब १० बजे राति छिमेकी घर भएकी राधा सुत्ने भनेर घर फर्किएपछि सबै आफ्नो कोठामा सुत्न गए ।
केही समयपछि मृतकले पानी प्यास लागेको भनेर भाउजुलाई भनेपछि उनले पानी लगेर उनको कोठामा गएको समयमा मृतकले बलात्कार गर्न प्रयास गरेछन् । आफूमाथि बलात्कार प्रयास भयो भन्दै ती छिमेकीको घरमा भन्न गएपछि राधा आएको र उसैले देवरको हत्या गरेको मृतककी भाउजुले एक स्थानीयलाई बताइन् ।
अटोचालकबाट खुल्यो घटनाको पोल
मृतककी भाउजु शुक्रबार बिहान सदरमुकाम खलंगामा रहेको बैंकमा विदेशबाट श्रीमानले पठाएको पैसा निकाल्न गइन् । स्थानीय अटोचालक शेरबहादुर बुढाथोकीले उनी हतारहतारमा जाँदै गरेको बाटोमा भेट ।
विद्यार्थीहरूलाई स्कुल लिएर छोडेपछि अटोचालकलाई स्थानीय दुई वृद्धाहरुले वृद्धभत्ता लिन जानु छ, बैंकसम्म जानु प¥यो भनेपछि उनीहरूलाई लिएर बैंक पुगे । जहाँ मृतककी भाउजु पनि थिइन् ।
अटोचालकले बिहान किन हतार गरी आएको भनेर सोधेपछि उनले सबै कुरा अटोचालकलाई बताउँदै आफूहरूलाई कानुनी प्रक्रियाबाट बचाई दिन अनुरोध गरिन् । त्यसपछि मात्रै घटना बाहिरिएको हो । त्यसपछि स्थानीयले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
जलाइएको अवस्थामा भेटियो शव
घटनाको प्रकृति हेर्दा हत्या भएको र सबुत प्रमाण नष्ट गर्नका लागि शव जलाउन खोजिएको जस्तो देखिएको स्थानीय वडाध्यक्ष प्रदीप शाहीले जानकारी दिए । ‘हामी घटनास्थलमा पुग्दा मृतकको शरीर आधा जलेको भेटियो । सुत्ने कोठामा पनि सबुतहरू मेटाउन खोजिएको छ ।
मृतक सुतेको तन्ना र मोबाइल फोन पनि घर नजिकै जलाइएको अवस्थामा भेटियो । हत्या के कारणले गरेको हुन् थप अनुसन्धानबाट पनि खुल्छ होला तर यसरी कानुन हातमा लिने अधिकार कसैलाई पनि छैन,’ उनले भने ।
घटना थाहा पाएलगत्तै प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ । तर, घटना यही कारणले भएको भनेर अहिले नै पुष्टि भइसकेको छैन । घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्स्पेक्टर श्यामप्रसाद यादवका अनुसार मृतकको पोस्टमार्टम गर्नका लागि शव सल्यान अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताए ।
