स्पेन, १२ मंसिर–विश्व समुदायलाई साम्राज्यवाद र उपनिवेशवाद विरुद्ध लड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन्।
स्पेनको मालागास्थित दोस्रो अन्तरराष्ट्रिय युथ फोरम अफ सोलिडारिटी स्पेनिश युथ काउन्सिलको निमन्त्रणामा नेपालका तर्फबाट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष पराजुलीले विश्वभरका साम्राज्यवाद र त्यसको उपनिवेशका बाँकी अवशेष समाप्त पार्न विश्वभरका युवाले अभियान जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यसैगरी उनको नेतृत्वमा उपाध्यक्ष सुदीप शर्मा, उपमहासचिव मेघनाथ चापागाई र स्थायी समिति सदस्य पंकज कर्ण सम्मेलनमा सहभागी छन्।
विश्वका ५० देशबाट १ सय ४० भन्दा बढी प्रतिनिधि सहभागी उक्त सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिसर्ट र संगठनको मास्कसमेत वितरण गरिएको उपाध्यक्ष शर्माले बताए।
अफ्रिका, जापान, कोरिया, जर्मनी, अमेरिका, ब्राजिल, मेक्सिको र रूसलगायत देशका युवा विद्यार्थीका संघ संगठनको प्रतिनिधित्व रहेको छ।
साम्राज्यवाद, उपनिवेशवादविरुद्ध समानता स्वतन्त्रताको पक्षमा विश्व समुदायमा ऐक्यबद्धता जनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको अध्यक्ष पराजुलीले बताए।
उक्त सम्मेलन स्पेनको मालागा राज्यमा नोभेम्बर २६(२८ सम्म भइरहेको छ।
नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको टोली युरोपका विभिन्न देशमा रहेका पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चका नेताहरूसँग भेटघाट र संगठन विस्तार गर्ने कार्यक्रमसमेत रहेको उपाध्यक्ष शर्माले जानकारी गराए।
