काठमाडौं, १३ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुसाल बाहेकको पदाधिकारी टिम घोषणा गरेका छन् । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका हुन् ।
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरे । महासचिवमा भने शंकर पोखरेलको नाम प्रस्ताव गरे ।
ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरे ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरे । सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठको नाम प्रस्ताव गरेका छन् ।
ओलीले घोषणापछि सिंगै हलले भनेको भन्दा बाहिर नजान भीम रावललाई आग्रह गरेका थिए । तर रावलले अस्वीकार गरे । अब यो सँगै अध्यक्षका लागि ओली र रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।
ओलीले पदाधिकारीको नाम घोषणा गर्नुअघि आफूले अध्यक्ष मण्डलको अध्यक्षको हैसियतमा उपाध्यक्ष बन्न रावललाई आदेश दिएको बताए । लगत्तै ओलीले रावललाई बोल्न दिएका थिए ।
यसपछि रावलले अध्यक्षको आदेश मान्न नसक्ने बताए। ‘साथीहरू सुत्न पाउनुभएको छैन,’ रावलले भने, ‘अध्यक्ष मण्डलका अध्यक्षले निर्देशन दिएपछि मैले बोल्नैपर्ने भयो। उम्मेदवारी घोषणा गरेपछि अब मलाई फर्कन गाह्रो छ। मैले लड्नैपर्छ।’
