चितवन, १४ मंसिर–नेकपा एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

चितवनको सौराहामा जारी दशौं महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १,८४० मत पाएका छन् ।

अध्यक्ष प्रतिष्पधी भीम रावलले भने २२३ मत प्राप्त गरेको एमाले नेता राजन भट्टराईले जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गराएको जानकारीअनुसार ३३ जनाले नो भोट गरेका छन् । अर्थात् उनीहरुले दुवै नेतालाई मतदान गरेका छैनन् ।

ओलीको पक्षमा ८९.४६ प्रतिशत महाधिवेशन प्रतिनिधिले रोजेका छन् । रावलले १०।५४ प्रतिशत मत आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

एमाले नेता महेश बस्नेतले ओली फराकिलो मतान्तरसहित विजयी भएको बताएका छन् । निर्वाचन आयोगका अनुसार मुचुल्कामा हस्ताक्षर गरेपछि औपचारिकरुपमा परिणाम सार्वजनिक गरिने छ ।

ओलीले शुरुमै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेका थिए । तर रावलले अस्वीकार गरेपछि निर्विरोध नभएका पदमा निर्वाचन भएको थियो । रावलको असहमतिपछि सोमबार राति नै मतदान प्रक्रिया अघि बढाइएको थियो ।

मंगलबार बिहान ४ बजेदेखि शुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २,१५३ मतदातामध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगले विद्युतीय मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन ।

एमाले नव निर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै गर्न लागिएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *