डुडामारी, १८ मंसिर–झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको आज हुने समापन समारोहमा सहभागि हुन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आउने भएका छन् ।
समापन समारोहमा मुख्य मन्त्री राजेन्द्र राईलाई डुडामारीदेखि बाजागाजासहित फाक्तेप खेल मैदानसम्म ल्याउने आयोजकले तयारी गरिएको फाक्तेप फूटबल क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले जानकारी गराए ।
आयोजक फाक्तेप फुटबल क्लबले समापन समारोहको प्रमुख अतिथिका लागि आमन्त्रण गरेको प्रदेश १ का मुख्य मन्त्री राईलाई फाक्तेपका युवाहरुको टिमले तामझामका साथ डुडाँमारीदेखी स्कटिङसहित बाजागाजाका साथ खेल मैदान लग्ने तयारी गरेको छ ।
मुख्य मन्त्री आउने निश्चित भएसँगै फाक्तेपका युवाहरु थप उत्साहित भएका छन्।
पहिलो पटक आयोजना गरेको गोल्डकपमा दर्शकको उल्लेख्य सहभागिताका साथ योगेश गुरुङ, कर्ण लिम्बुसहित विदेशी खेलाडीहरुको समेत सहभागिताले उत्साहित भएका युवाहरुमा समापन समारोहमा मुख्य मन्त्री आउने निश्चित भएपछि थप उत्साहित भएका हुन्।
प्रतियोगिताको उपाधिका लागि शनिबार अफ्रिकन खेलाडीहरु सहितको टोली तुर्केनी युथ क्लव काँकडभिट्टा र विष्णु सुनुवार सहितको टोली धरान सिटी एफसी आमने-सामने हुँदैछन्।
काँकडभिट्टाले जलथल एफसी जलथललाई तथा धरानले पथरी एफसीलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेका थिए। प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार हात पार्ने छ भने उपविजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छ।
