काठमाडौं, २५ मंसिर–सभापतिको उमेदवारसहित मदाधिकारी टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक अहिले केही समयमा बस्दै छ । शुक्रबार साँझ बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज बिहान ८ बजे बैठक बस्न लागेको हो ।
पौडेल पक्षधर नेताहरु अहिले ८ बजे पौडेल निवास बोहराटार पुग्दैछन् । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापनइतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । शुक्रबार साँझको बैठकमा पदाधिकारीमा को–को उठ्ने भन्नेमा सहमति जुट्न नसकेपछि विहानसम्म आफूले आकांक्षीहरुलाई मिलाउने पौडेलले बताएका थिए ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आजबाट निर्वाचन कार्यक्रम सुरु हुँदै छ ।
निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुने भएको छ । उमेदवारी दर्ताको समय आइसके पनि संस्थापन इतरले आफ्नो साझा टिम बनाउन सकेको छैन ।
नेता प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा उमेदवारी दिने बताएका छन् । विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् । तीनजनालाई मिलाउने प्रयास वरिष्ठ नेता पौडेलले गरेपनि मनोनयनको समय आइसक्दा पनि सहमति जुट्न सकेको छैन ।
