काठमाडौं, २५ मंसिर–उमेदवार मनोनयन दर्ताको समय नजिकिँदै गर्दा नेपाली कांग्रेस संस्थापन पक्षले छलफल गर्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले पदाधिकारीको टिम टुङ्गो लगाउने छ ।
पदाधिकारीमा आकांक्षीको संख्या धेरै रहेकाले अहिले बस्ने बैठकले उक्त विषय टुङ्गो लगाउने पदाधिकारीका एक आकांक्षीले जानकारी दिए । “म बैठकका लागि बालुवाटार जाँदै छु । अरु साथीहरु पनि जाँदै हुनुहुन्छ भन्ने खबर पाएको छु,” पदाधिकारीका एक आकांक्षीले भने, “मैले मेरो दाबी छोडेको छैन । अहिलेको छलफलमा सभापति तथा प्रधानमन्त्रज्यूले हाम्रोतर्फबाट चुनाव लड्ने टिम तयार पार्नु हुनेछ ।”
पदाधिकारीका अर्का आकांक्षीले पनि छलफलमा जान आफू तयारी अवस्थामा रहेको बताए । उनले पनि आफूले पदाधिकारीको अडान नछोडेको बताए । उनका अनुसार अहिलेको छलफलले नेता कृष्णप्रसाद सिटौलाको प्रस्ताव स्वीकार गर्ने वा नगर्ने विषय पनि टुङ्गो लगाउने छ ।
सिटौलाले प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सह–महामन्त्रीमा उठाउन प्रस्ताव गरेका छन् । उक्त प्रस्तावलाई स्वीकार गरे जारी महाधिवेशनमा आफ्नो समूहले देउवा पक्षलाई सहयोग गर्ने सिटौला पक्षको प्रस्ताव छ ।
सिटौला समूहका नेता शिव हुमागाईंले देउवा समूहले छलफल गरिरहेको जानकारी आफूले पाएको र आफूहरुको प्रस्तावमा बैठक निर्णयमा पुग्नेमा आशावादी रहेको बताए । सिटौला समूहको प्रस्ताव स्वीकार गरे देउवा समूहको टिम फर्मेशन हुनेछ ।
नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तरगत आज बिहान १० बजेबाट मनोनयन दर्ता सुरु हुँदै छ ।
