काठमाडौं, २५ मंसिर–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तबारे छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् ।
शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको टिप्पणी गरे ।
‘अरू पार्टीले ठुलठुला अधिवेशन भनेर भिड जम्मा गर्ने गरेका छन् । तपाईं हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ । अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ । एमालेको अधिवेशनलाई त मैले पञ्चर्याली भन्दा अरू देख्दिनँ । त्यो बिल्कुल पञ्चर्याली, सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ति भन्याजस्तो मात्रै हो त्यो । त्यहाँ न कुनै विचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धती, निरंकुशताको, विचार शून्यता र विचार हिनताको अधिवेशनको रूपमा गयो त्यो । दुनियाँले देख्यो,’ उनले भने ।
उनले अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे ।
‘नेपाली कांग्रेसको पनि हामी हेरिराख्या छौँ, उहाँहरूको त झन विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन,’ उनले भने ।
उनले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको पनि बताए । पार्टीभित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाइ छ । उनले आगामी राष्ट्रिय सम्मेलनबाट २१औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने दाबी गरे ।
