विराटनगर, १ पुष–प्रदेश नं १ को नेतृत्व चयन गर्न रस्साकस्सी भएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कार्यदल गठन गरेको छ । आकांक्षी बढेपछि अध्यक्षसहितका पदाधिकारी चयन गर्न नेतृत्व सकसमा परेको छ ।

नेतृत्व चयन गर्ने अधिवेशन भने यसअघि नै सकिएको छ । अब पार्टीले गठन गरेको कार्यदलले नेतृत्व चयन गर्ने गृहकार्य थालेको छ ।

प्रदेशको अधिवेशनबाट नेतृत्व चयन नभएपछि प्रदेश राजधानी विराटनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले कार्यदल गठन गरेको हो ।

केन्द्रीय सदस्य तथा प्रदेशका सह–इञ्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा गठन भएको कार्यदलले सहमतिबाटै नेतृत्व चयनको पहल थाल्ने बताइएको छ ।

पार्टीको प्रदेश अधिवेशन भने मंसिर २५ देखि २७ गतेसम्म मोरङको सुन्दरहरौंचामा सम्पन्न भएको थियो । अधिवेशनले प्रदेश कमिटी चयन गरेको छ । तर, को–को पदाधिकारी हुने भन्ने छनोट हुन सकेको छैन ।

प्रदेशको अध्यक्षको दौडमा रहेका माओवादी केन्द्रीय सदस्यहरु सुरेशकुमार राई ‘हिमाल’, इन्द्रबहादुर आङ्बो ‘मौसम’ हेमराज भण्डारी ‘आफ्नो दावेदारी फिर्ता गरेको जनाएका छन् । अब पुस ७ गते बस्ने कार्यदलको बैठकले पदाधिकारी चयन गर्नेछ ।

पार्टीका केन्द्रीय सदस्य सावित्रिकुमार काफ्लेले कार्यदलले आउँदो बैठकले पदाधिकारीको टुंगो लगाउने बताएका छन् ।

कार्यदलमा अध्यक्षको दौडमा रहेका राई, आङ्बो र भण्डारीसहित केन्द्रीय सदस्य रामकुमारी चौधरी सदस्य छन् । बैठकले विवाद मिलाउन नसके प्रक्रियामा जाने तयारी रहेको काफ्लेको भनाइ छ ।

माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

पहिले अध्यक्षमा दाबी गरेका नेताहरुले छाडेपछि नेतृत्वमा पुग्न नयाँ आकांक्षीहरु अघि बढेका छन् । पार्टीको सुनसरीका सह–इन्चार्ज शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, पाँचथरका सह–इन्चार्ज हर्कबहादुर नेम्वाङले अध्यक्षको दावी गरेका छन् ।

उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी, झापाका सीपी कडरिया, मोरङका भोगेन्द्र यादवको दावी छ । सचिवमा मोरङका गणेश उप्रेतीको दावेदारी देखिएको छ । पदाधिकारीमा आउन झापाका विजय साङ्पाङ, ताप्लेजुङका विजय वनेम छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *