काठमाडौँ, ५ पुस–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् ।
सोमवार नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई ‘कालो दिन’ को रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका हुन् ।
देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उनले बताए । सत्ता गठबन्धन भत्काएर नयाँ ढङ्गको प्रतिगमन आउने खतरा रहेको उनले दाबी गरे ।
अध्यक्ष भट्टराईले भने, ‘हामीले ध्यान पुर्याउन सकेनौँ भने, खासगरी एमसीसीको मुद्दामा गठबन्धनका घटकहरूका बीचमा एउटा सहमति जुटाएर हामी अगाडि बढ्न सकेनौँ भने यही बहानामा भित्री र बाहिरी शक्तिहरूले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरि अर्को ढङ्गले प्रतिगमन अगाडि आउने खतरा छ । यतापट्टि हामी सबैको ध्यान आकृष्ट होस् ।’
