काठमाडौँ, ५ पुस–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपालले आज सोमवार काठमाडौँमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका हुन् ।
उनले एमसीसीको बारेमा सत्तारुढ पाँच दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताए ।
अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एमसीसी जोडिन नहुने बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटिरकमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताए । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए ।
उनले भने, ‘एमसीसीको सवालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ ? कतै कमजोरी छन् भने, सच्याउनुपर्ने कुरा छ भने, प्रतिबद्धता दिनुपर्ने कुरा छ भने ती के-के हुन् भन्नेबारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निष्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ ।
अहिले एमसीसीसँग जोडिएकाहरूले यो गठबन्धनको अङ्ग होइन भनेर हामीलाई प्रष्ट पार्ने कोसिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् ।
सेनासँग वा अन्य कुनै पनि कुरासँग, नेपालको सार्वभौमसत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरूमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । पाँच दलको बीचमा छलफल गरेर साझा निष्कर्ष निकालेर, देशको हितको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौँ ।’
