दमक, १२ पुस–प्रदेश एक सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले झापाको कमल ५ पाडाजुङ्गीस्थित निर्माण प्रकृया अवरुद्ध बनेको आदिवासी रंगशाला तथा समाधीस्थलको स्थलगत निरिक्षण गरेका छन ।
आज रंगशाला निर्माणस्थल आइपुगेका मन्त्री यादवलाई प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईसहित, कार्यसमिति, सल्लाहकार एवं स्थानीय सरोकारवालाहरुले रंगशाला निर्माणको इतिहास र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा मन्त्री यादवले आफू सो रंगशालाका बिषयमा जानकार रहेको बताउँदै इतिहासको संरक्षण बिना वर्तमान र भविष्यसमेत उज्यालो हुन नसक्ने उल्लेख गरे । उनले भने–’हजारौं पितृहरुको समाधी जुन उद्धेश्य र भावना राखेर भत्काइयो त्यो पवित्र थियो, चिहानमाथि उभिएर कसैले पनि मृत आत्माको भावनामाथि खेलबाँड गर्नुहुँदैन । यो चिहानमाथि उभिएर हामी कसैले पनि झुटो नबोलौं ।
मन्त्री यादवले प्रदेश सरकार मात्रै नभई संघीय सरकार समेत आदिवासी रंगशाला निर्माण गर्ने र समाधीस्थललाई व्यवस्थित गर्ने कुरामा सकारात्मक रहेको आफूले बुझेकाले यसलाई तुरुन्तै कार्यान्वयनको दिशामा लैजाने प्रतिबद्धता जनाए । उनले हाइवेसंगै जोडिएको स्थानमा फराकिलो क्षेत्रलाई आधुनिक र व्यवस्थित रंगशालाको रुपमा बिकास गर्न सके उदाहरणीय हुने बताउँदै यसलाई खेल क्षेत्रको मात्रै नभएर देशको नमुना बिकास योजनाका रुपमा लिन सकिने बताएका थिए ।
रंगशाला निर्माणस्थलसंगै दिवंगतहरुको नाम लेखेर स्मृति पार्क निर्माण गर्ने यस अघिको योजनालाई मुर्तरुप दिन आवश्यक रहेको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष राईले जानकारी गराएका थिए । उनले त्यहाँ रंगशाला निर्माणका लागि तय भएको क्षेत्रको भोगाधिकार प्रतिष्ठनका नाममा ल्याउने प्रकृयामा वर्तमान संघीय सरकारका प्रमुख तथा सम्बन्धित मन्त्री एवं शीर्ष नेताहरु सकारात्मक रहेको स्मरण गराए । उनले सो प्रकृयालाई मुर्तरुप दिन पहलका लागि मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।
मन्त्री यादवलाई सरोकारवालाहरु भिमराज राई, देउकुमार नेम्वाङ, भलिबलका प्रदेशस्तरीय रेफ्री समेत रहेका स्थानीय रोशन दाहाल, प्रतिष्ठानका महासचिव दिपेनवाला राई, किराँत राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ, आदिवासी जनजाती महासंघ झापाका पूर्व अध्यक्ष पारसमणी राई, प्रतिष्ठानकी विष्णुमाया भट्टराई लगायतले त्यहाँ निर्माणाधिन रंगशाला र विभिन्न जातजातीको समाधीस्थलमा व्यवस्थापनका लागि मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।

