चितवन, १३ पुस–मानवसेवा आश्रम चितवन शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञमा चार करोडभन्दा बढी आर्थिक सङ्कलन भएको छ ।
आश्रमले सोमबार भरतपुर–३ नारायणगढस्थित निर्माणाधीन भवनमा पत्रकार सम्मेलन गर्दै महायज्ञबाट चार करोड पाँच लाख ५९ हजार २१४ सङ्कलन भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा मानवसेवा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सेनाले महायज्ञका क्रममा एक करोड ८५ लाख ७४ हजार ९६८ नगद सङ्कलन भएको जानकारी दिए । दुई करोड १९ लाख ८४ हजार २४६ बोलकबोल भएको तिमिल्सेनाको भनाइ छ ।
बोलकबोल भएको रकममध्ये पनि करिब रु एक करोड बराबरको चेक भएको र बाँकी रकम फागुनभित्र दिने प्रतिबद्धता भएको तिमिल्सेनाले बताए ।
मानवसेवा आश्रमको भवन निर्माणका लागि ३३ जनाले एक कोठा बराबरको रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका तिमिल्सेनाको भनाइ छ । उनका अनुसार कोठा अभियानका लागि एक करोड ७३ लाख ५३ हजार ५५२, कलश दानबाट ९१ हजार ७१० सङ्कलन भएको छ ।
मङ्सिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन भएको महायज्ञ सम्पन्न गर्न ४१ लाख सात हजार ४६२ खर्च भएको तिमिल्सेनाले बताए ।
