काठमाडौं, १६ पुस–सन् २०२१ जनवरीदेखि डिसेम्बर ३१ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन्। ती घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन्।

यो वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो। तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए।

यसवर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन्। त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन्।

यसैगरी, पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ।

समग्रमा यो वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुर्व्यवहारलगायत घटनाबाट पत्रकार तथा सञ्चारमाध्यमपीडित हुन पुगेका छन्।

भ्रष्टाचार, अनियमिततालगायत समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चार माध्यमले यस्तो समस्या बेहोर्नु परेको महासंघले जनाएको छ।

विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुन पुगेका छन्। यो वर्ष सार्वजनिक कार्यक्रमका समाचार संकलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको छ। संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायत कार्यक्रममा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको महासंघले उल्लेख गरेको छ।

त्यस्तै, यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएका छन्। संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको महासंघले निर्क्योल गरेको छ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट यो वर्ष पनि पत्रकार प्रभावित भएका छन्। महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन्। त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको हो।

कोरोना महामारीको बहाना पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छ। एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलबी बिदामा राख्‍नै र जागिरबाट निष्कासन गर्ने काम भएको महासंघले उल्लेख गरेको छ।

यसमध्ये झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानुनी तथा दबाबमूलक पहल गरिरहेको जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *