झापा, २० पुस–२० वर्षयताको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २ सय ७४ जनाको मृत्यु भएको छ ।
मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको एक अध्ययनले हात्तीबाट ज्यान गएकाको तथ्याङ्क सार्वजनिक गरेको हो ।
सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सोमबार सार्वजनिक गरेका हुन् ।
उनले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको जानकारी दिए । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् ।
उनका अनुसार पर्सामा २१, बारामा २०, सिरहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको ज्यान गएको छ ।
सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको ज्यान गएको छ ।
यसै अवधिमा १३८ जना घाइते भएका, सम्पत्ति नष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । अशिक्षित, गरिब तथा विपन्न धेरै प्रभावित हुने गरेका छन् ।
समुदायमा आएको हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर हात्ती लखेट्न जाने जस्ता कार्य गर्दा मानवीय क्षति बढी हुने गरेको उल्लेख छ ।
