बिर्तामोड, २४ पुस–नेकपा (एमाले) झापाको १०औं जिल्ला अधिवेशनबाट तत्कालीन संविधानसभाका सदस्य तथा पार्टी जिल्ला कमिटीका पूर्वउपाध्यक्ष दिपक कार्की सर्वसम्मत अध्यक्ष बनेका छन् ।
जिल्ला अधिवेशन अन्तरगत बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष पार्टी स्थायी कमिटीका सदस्य तथा झापा इन्चार्ज अग्नि खरेलले अध्यक्षमा कार्कीसहित पदाधिकारीहरु सर्वसम्मत चयन भएको घोषणा गरेका हुन् ।
पार्टी उपाध्यक्षमा तत्कालीन संविधानसभाका सदस्य प्रेमबहादुर गिरी, सचिवमा शिव ढुंगेल तथा उपसचिवमा चन्द्रा श्रेष्ठ र असारु राजवंशीकोमात्र उम्मेदवारी परेकाले सबैजना निर्बिरोध भएका इन्चार्ज खरेलले जानकारी दिए ।
१५० सदस्यीय जिल्ला कमिटीमा ४०० जनाभन्दा बढीले उम्मेद्वारी दर्ता गरेको प्रारम्भिक जानकारी आएको छ । कुन पदमा कति जनाले उम्मेद्वारी दर्ता गराए भन्ने बारे निर्वाचन समितिले नामावली प्रकाशन गर्न बाँकी छ । उपाध्यक्ष पदमा गोपाल बुढाथोकीले उम्मेद्वारी दर्ता गराए पनि फिर्ता लिएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ५ जना नै सर्वसम्मत भएका छन् । क्षेत्र नं १ बाट डिल्ली घिमिरे, २ बाट बद्री भट्टराई, ३ बाट लक्ष्मण पाठक, ४ बाट खेमनाथ मिश्र र ५ बाट तुलसी कार्कीको मात्र उम्मेदवारी परेकाले सबैजना निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
यस्तै, पत्रकारतर्फ मोहनकाजी न्यौपाने सर्वसम्मत भइसकेका छन् । पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको हो ।
यस्तै, भूमिहीन संगठनबाट टिकाराम मंग्राती एकजनाको मात्रै उम्मेद्वारी छ । मधेशी दुईजनाको कोटामा डम्बर यादव र बिना साहाको उम्मेदवारी परेकाले उनीहरु पनि सर्वसम्मत भएको जनाइएको छ ।
निर्वाचन समितिले उम्मेद्वारी दर्ता गर्नेहरुको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ । नामावली प्रकाशन गर्न करिब ३ घण्टा लाग्ने बुझिएको छ ।
