दमक, २५ पुस–स्थानीय सरकारले भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानलाई बेवास्ता गरेको आरोप लगाउँदै शिबसताक्षी नगरपालिकामा क्रियाशील विभिन्न छ वटा राजनीतिक दलले गम्भिर ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), संघीय लिम्बुवान मञ्च र जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्त पार्टीले आज (आइतबार) संयुक्त विज्ञप्ती निकालेर त्यस्तो आरोप लगाएका हुन ।

विज्ञप्तीमा राष्ट्रिय भुमी आयोगले दलित भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न गत पुष २० गते कार्य सहमतिमा हस्ताक्षर गर्न गरेको आव्हानलाई वेवास्ता गर्दै हस्ताक्षर नगरेको भन्दै तत्काल नगरपालिकालाई सो सम्बन्धिको सहमति पत्रमा हस्ताक्षर गर्न आग्रह गरिएको छ ।

राष्ट्रिय भूमि आयोगको चलानी नम्बर १९१ मिति २०७८।०९।२० को परिपत्र अनुसार २०७८।०९।२४ गते शिबसताक्षी नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई काठमाण्डौं आमन्त्रण गरिएको पत्रलाई शिबसताक्षी नगरपालिकाले वेवास्ता गरेको हो ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन सम्बन्धी समस्या समाधान गर्न झापाका चार वटा पालिकाहरु छनौट चरणमा परेको थियो । यी चार वटा पालिकाहरु मध्ये शिबसताक्षी नगरपालिका पनि एक हो । तर, भूमि आयोगको पत्रचारलाई शिबसताक्षी नगरपालिकाले वेवास्ता गरेर भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुमाथि हेलचेक्रयाई गरेको नगरस्तरीय राजनीतिक दलहरुको ठम्याई छ ।

आइतबार, नगरपालिकाको कार्यालय ब्याङडाडामा पुगेर नगरका क्रियाशिल ६ वटा राजनीतिक दलले ध्यानाकर्षणसहितका विज्ञप्ती बुझाएको छ ।

नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत कार्यालयमा नभएको अवस्थामा कार्यालयका एक कर्मचारीलाई सो विज्ञप्ती बुझाएको नेपाली काँग्रेस नगर सभापति अशोक बस्नेतले हाम्रोसरोकारलाई जानकारी गराए ।

नगरपालिकाको हेलचेक्रयाईप्रति नगरका क्रिायशिल दलहरुले साझा धारणा बनाएर अघि बढ्ने सो बारेमा नगरपालिकाले जिम्मेवारका साथ प्रस्तुत नभए त्यसको बिरोधमा आन्दोलनमा उत्रिने नेकपा ९माओवादी केन्द्र० नगर अध्यक्ष महेन्द्र भट्टराईले बताए ।

सो विज्ञप्तीमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलनका लागि सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगको परिपत्रलाई नगरपालिकाले गरेको वेवास्ताप्रति गम्भिर ध्यानकर्षण भएको राजनीतिक दलहरुले उल्लेख गरेका छन् ।

संवेदनशिलता माथिको हेलचेक्रयाई गरेको घट्नाले हामी सम्बन्धित सरोकारवालाहरु र यहाँका सम्पूर्ण राजनीतिक दलहरुको गम्भिर ध्यानाकर्षण भएको छ, संयुक्त प्रेष विज्ञप्तीमा भनिएको छ ।

भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरुको लागत संकलन सम्बन्धीको कार्यविधि २०७८ को दफा ३ मापदण्ड बमोजिम सम्झौता गर्न सुचित गराइएकोमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेतले सुचनालाई बेवास्ता गरी उक्त सम्झौता गर्न नगएको बुझिएकोले यसबाट हुने दुरगामी असर, क्षतिप्रति संचेत गराइएको विज्ञप्तीमा जनाइएको छ ।

सो विज्ञप्तीमा सम्बन्धित निकायमा यथाशिघ्र सम्पर्क गरी उक्त सम्झौता गर्न र सोको आधाकारिक रुपमा स्थानीयतहका सरोकारवाला राजनीतिक दलहरुलाई जानकारी गराउन नगर प्रमुखलाई विज्ञप्तीमा आग्रह गरेको छ ।

सो विज्ञप्तीमा नेपाली कांग्रेस नगर सभापति अशोक बस्नेत, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष महेन्द्र भट्टराई, नेकपा (एकीकृत समाजवादी) नगर उपाध्यक्ष खड्गध्वज खापुङ, संघीय लोकतान्त्रिक राष्टिय मञ्च (संघीय लिम्बूवान) नगर अध्यक्ष प्रकाश लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष मणिप्रसाद खड्का र जनता समाजवादी (जसपा) नगर अध्यक्ष पल्टन ताजपुरियाले हस्ताक्षर गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *