काठमाडौं, २५ पुस–सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने निणर्य गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सो निणर्य गरेको हो ।
कोभिड(१९ को संक्रमण तीब्र बनेको भन्दै सरकारले उक्त निणर्य गरेको हो । बैठकले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न र नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत लेखी पठाउन सिफारिस गर्ने पनि निणर्य गरेको छ ।
पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर दैनिक एक हजारभन्दा माथि पुग्न थालेपछि समन्वय केन्द्रले यस्तो निणर्य लिएको हो ।
समितिले होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला र विमानस्थल र पार्कसहितका सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिडविरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निणर्य गरेको छ । सार्वजनिक स्थानमा कडाइ गर्दै सीसीएमसीले दलहरूलाई सभा, सम्मेलन रोक्न पनि सरकारलाई सिफारिस गरेको छ ।
समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले कोभिडको बढ्दो दरबाट नागरिकलाई जोगाउन यस्तो निणर्य लिएको बताएकी छन् । उनले केन्द्रका यी निणर्यलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा जाने बताइन् ।
केन्द्रले माघ १५ सम्म विद्यालय बन्द गरिने पनि जनाएको छ । केन्द्रले विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेश सरलालाई परिपत्र गर्ने भएको छ । संक्रमण धेरै फैलिएको स्थानमा कोभिड नियन्त्रणमा गर्न कडाइ गर्न पनि सरकारलाई भनेको छ ।
नेपालले स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिने पनि बताइन् । उनले आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी नियम लागु गरिने बताइन् ।
