काठमाडौं, २६ पुस–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निणर्य कार्यान्वयनमा पठाउने भएको छ ।
मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निणर्य गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
‘हामीले अरु थप निणर्य गरिरहनु पर्दैन, सीसीएमसीको निणर्य कार्यान्वयनका लागि पठाउने हो, त्यही निणर्य भएको छ’, प्रवक्ता शर्माले भने, ‘बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।’ शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको थियो । आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।
