काठमाडौं, २८ पुस–​राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरू मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गरेका छन्।

बुधबार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचित मनोनीत पार्टी सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभई निष्पक्ष ढंगले पार्टी सदस्यहरू मनोनीत गरेको बताएका हुन्।

आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने उनको भनाइ छ। पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर अघि बढ्ने जिकिर गरे।

अध्यक्ष लिङ्देनले भने, ‘हामीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जन जीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरु समेत लिएर आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्नेछौँ र उभ्याउने छौँ।’

पार्टीमा मनोनयन सदस्यहरूको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसाबले गरिने समेत बताए। पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने बताए।

उनले भने, ‘हामीले असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान्छौँ। आगामी दिनमा राप्रपा सशक्त ढंगबाट अघि जान्छ। कुनै विवादमा अल्झिँदैन,अहिले हामीले मनोनयन गरेको सन्दर्भमा केही भ्रमहरु पनि साथीहरूका बीचमा आएको छ। समावेशी भएन, समानुपातिक भएन, विधानले निर्दिष्ट गरेका लैङ्गिक समावेशी, समानुपातिकताका कुराहरु उल्लंघन भयो । भन्ने कुराहरु पनि कतै उठेको छ। यो सबैलाई हामीले पूर्ण गर्छौं।’

राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकाले अबका दिनमा यसलाई आफ्नो मुल मुद्दाको रुपमा लिइएको भएपनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *