दमक, ९ माघ–दमक बहुमुखी क्याम्पसका तीन विद्यार्थी संगठनको आयोजनामा आज विद्यार्थीहरुले कालो फेटा बाधेर सिटी जुलुस प्रदर्शन गरेका छन् । तिन दिनको अल्टिमेटमसहित चरणबद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुले दमक बहुमुखी क्याम्पस प्रमुखको राजीनामा लगायतका १० बुदे आफ्ना मागहरु गर्दै आएका छन् ।
आज क्याम्पस प्रशासन र लेखा प्रशासनमा कालो फेटा बाँधेर विद्यार्थीहरु प्रवेश गरेका थिए । सो क्रममा विद्यार्थीहरुले आफ्ना मागहरुप्रति क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले वेवास्ता गरिएको भन्दै सिटी जुलुस प्रदर्शन गरेका थिए ।
सिटी जुलुसपछि आयोजित कोणसभामा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू झापा जिल्ला कमिटी सचिव एबम् दमक बहुमुखी क्याम्पसका विद्यार्थी नेता युनिष थापा र नेकपा माओवादी सम्बद्ध अनेरास्ववियू झापाका पूर्व विद्यार्थी नेता सञ्जय राईले सम्बोधन गरेका थिए ।
उनिहरुले विद्यार्थीहरुको समस्या र हक अधिकारका निम्ति आन्दोलनरत विद्यार्थीहरुको समस्यमा क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समिति बेखबर बन्दा सयौ विद्यार्थीहरुले दुःख र पीडा पाइरहेको बताएका थिए ।
गत माघ ७ गतेबाट विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । यसअघि, तिन विद्यार्थी संगठनहरुले माघ ४ गते क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई संयुक्त रुपमा १० बुदे मागहरुसहितको ज्ञापन पत्र बुझाएका अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष आयुष्मान पोख्रेलले जानकारी दिए ।
कार्यक्रमको सञ्चालक राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठन दमक बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सोबिम न्यौपानेले गरेका थिए ।
