काठमाडौँ, ९ पुस–नेकपा माओवादी केन्द्रको पदाधिकारी छान्न आगामी माघ २७ गतेबाट निर्वाचन हुने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी छान्ने जनाएका हुन् ।
अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने उल्लेख छ ।
पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न सकेको थिएन ।
माओवादीको विधान अनुसार अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी, २९९ सदस्यीय केन्द्रीय कमिटी (यसबाहेक १५ प्रतिशत केन्द्रीय कमिटीबाट थप मनोनित हुने), केन्द्रीय कमिटीको ३३ प्रतिशत पोलिटब्यूरो र पोलिटब्यूरोको ३३ प्रतिशत स्थायी कमिटी रहने व्यवस्था छ ।
तर, महाधिवेशन सकिएको (पुस १७) तीन साता बित्दा पनि माओवादीको २३७ सदस्यीय केन्द्रीय कमिटी र अध्यक्ष मात्र चयन भएका छन् ।
