काठमाडौं, ११ माघ–मारियो बालोटेली सन् २०१८ पछि पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । बालोटेलीलाई विश्वकप प्लेअफका लागि टोलीमा बोलाइएको हो ।
म्यानचेस्टर सिटी तथा लिभरपुलका पूर्वफरवार्ड बालोटेली सेप्टेम्बर २०१८ पछि इटालीको टोलीमा पर्न सकेका छैनन् । ३१ वर्षीय बालोटेलीले टर्कीको एडाना डेमिर्सपोर क्लबबाट १८ खेलमा आठ गोल गरेका थिए । सोही प्रदर्शनका आधारमा उनलाई इटालीको ३५ सदस्यीय टोलीमा समावेश गरिएको हो ।
इटालीले आउँदो मार्च २४ मा विश्वकप प्लेअफ सेमिफाइनलमा नर्थ म्यासेडोनियाविरुद्ध खेल्नेछ । बालोटेलीले देशबाट ३६ खेलमा १४ गोल गरिसकेका छन् । तर, विश्वकपमा भने उनले तीन खेल मात्र खेलेका छन्, २०१४ को विश्वकपमा ।
बालोटेलीले इटालीका प्रशिक्षक रोबर्टो मान्सिनीसँग इन्टर मिलान र म्यानचेस्टर सिटीमा पनि खेलिसकेका छन् ।
