शिबगञ्ज (शिबसताक्षी), ११ माघ–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा निर्माणधिन श्री सरस्वती मन्दिरको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । विद्यालयका पूर्व विद्यार्थीहरुको पहल र समन्वयमा आर्थिक सहयोग संकलनसँगै निर्माणकार्य सुरु भएको मन्दिरको ४५ प्रतिशत काम पुरा भइसकेको छ ।

विद्यालय परिसरमा अवस्थित सरस्वती मन्दिरको अवस्था जीर्ण बन्दै गएपछि नयाँ निर्माण गरिनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका शिबसताक्षी–६ का वडा अध्यक्ष एबम् नेपाली कांग्रेसका युवा नेता मनोज खुलाल कार्कीले जानकारी दिनुभयो ।

निर्माणधिन सरस्वती मन्दिरको समुद्घाटन २३ माघ आइतबारका दिन श्रीपञ्चमी पुजा (सरस्वती पुजा) को अवसर पारेर गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् वडाध्यक्ष कार्कीले बताउनुभयो । पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष समेत रहनुभएका कार्कीले विद्यालय परिसरभित्र पुरानो र जीर्ण अवस्थामा रहिरहेको सरस्वती मन्दिर प्रयोग गर्न नमिल्ने भएकोले नयाँ मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो ।

१४ पुसमा सरस्वती मन्दिरको शिलान्यास गरिएको हो । सो अवसरमा मन्दिरको शिलान्यास विद्यालयका पूर्व प्रधानध्यापक लक्ष्मीप्रसाद उप्रेती र वर्तमान प्रधानध्यापक तुलसी अधिकारीले संयुक्त रुपमा गर्नुभएको हो ।

मन्दिर निर्माणमा रु १० लाख अनुमानीत खर्च हुने सरस्वती मन्दिर निर्माण उपसमितिका संयोजक भगवती ढुंगेलले जानकारी दिनुभयो । मन्दिर निर्माणमा रु १० हजारबढी सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा राखिने संयोजक ढुंगेलले बताउनुभयो ।

यता, सरस्वती मन्दिर निर्माणमा सहयोग जुटाउन र संकलन भएको सहयोगलाई पारदर्शिता र प्रभावकारी बनाउन शिबगञ्जस्थित राष्ट्रिय बाणिज्य बैकमा २१७०१००००१४४१००१ खाता सञ्चालनमा ल्याइएको पूर्व विद्यार्थी समन्वय समितिका सचिव दिनेश श्रेष्ठले जानकारी गराउनुभयो ।

त्यस्तैं, सरस्वती मन्दिर निर्माणमा सहयोग जुटाउन जन आदर्श माध्यमिक विद्यालयबाट अध्ययन पुरा गरेर देश र परदेशमा छरिएर रहेको पूर्व विद्यार्थीहरुलाई समन्वय समितिले अपिल समेत गरेको छ । समितिका सदस्य एबम् दमकका सामाजिक अगुवा पार्वता खतिवडा पौडेलले सरस्वती मन्दिर निर्माणमा पूर्व विद्यार्थीहरुले आ–आफ्नो तहबाट यथासक्दो आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *