काठमाडौं, ११ माघ–राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाखमा गर्ने बताएको छ।

यससँगै प्रश्नपत्र पोहोर सालको प्रयोग गर्ने कि, नयाँ छापिन्छ भनी यसको बाहिर चर्चा चल्न थालेको छ। तर, प्रश्नपत्रबारे बोर्डले खुलाउन चाहेको छैन।

दुई पटक छापिएका प्रश्नपत्र प्रयोगमा आउन सकेन। कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा लिइएको थिएन।

त्यसो त २०७६ सालमा छापिएको प्रश्नपत्र पनि प्रयोगमा नआएपछि जलाएर नष्ट गरिसकिएको छ भने २०७७ सालका लागि छापिएको प्रश्नपत्र सुरक्षित राखेको बोर्डले जनाएको छ।

बोर्ड परीक्षा नियन्त्रण कार्यालय (पनिका) का अनुसार ०७७ मा करिब ५ लाख प्रश्नपत्र छापिएको थियो। यसमा करिब ५ करोेड रूपैयाँ खर्च भएको छ।

‘प्रश्नपत्रको कुरा गोप्य हुन्छ’

बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले प्रश्नपत्र गोप्य हुने भएकाले बाहिर बताउन नमिल्ने बताए।

उनले भने, ‘वैशाखमा परीक्षा हुन्छ, प्रश्नपत्र नयाँ कि पुरानो हुन्छ भन्न मिल्दैन, प्रश्नपत्रको विषय आन्तरिक कुरा हो, प्रश्नपत्रबारे मिडियाले सोध्न मिल्दैन, हामीले भन्न पनि मिल्दैन।’

उनका अनुसार यस वर्ष करिब ५ लाख परीक्षार्थीले एसइईको फाराम भरेका छन्।

बोर्डका सचिव दुर्गाप्रसाद अर्याल पनि अहिले प्रश्नपत्रबारे कुरा गर्ने समय नरहेको बताए।

‘परीक्षा तालिका सार्वजनिक भएको छैन, कोरोना बढेकाले सबै परीक्षा धमाधम स्थगित भइरहेको छ, त्यसैले अहिले यो विषयमा कुरा गर्ने बेला भएको छैन,’ उनले भने।

कोभिड–१९ महामारी फैलिएपछि ०७६ सालको एसइई परीक्षा भौतिक उपस्थितिमा नभइ सरकारले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो।

पछि विद्यालयले नै मूल्यांकन गरी विद्यार्थीको नम्बर सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाएर प्रमाणित गरिएको थियो।

त्यसपछि बोर्डले नतिजा प्रकाशित गर्‍यो तर, विद्यालयले आफूखुशी बढी नम्बर चढाएको भनी चर्को विरोध भयो।

स्थिति सामान्य भएपछि ०७७ को एसइई परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्ने भनिएको थियो।

बोर्डले जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको थियो।

तर पुनः दोस्रो लहरको कोरोना फैलिएपछि परीक्षा रोकियो र आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *