दमक, १३ माघ–झापाको दमक बहुमुखी क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुले पाउनुपर्ने सेवा र सुविधाको माग गर्दै आन्दोलनरत तिन विद्यार्थी संगठनसँग क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले आज (बिहिबार) छलफल गरेका छन् । छलफलमा तिन विद्यार्थी संगठनले उठाएका जायज मागहरुलाई पुरा गर्न क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले विद्यार्थी प्रतिनिधि नेताहरुसँग सहमती गरेका हुन् ।

दमक बहुमुखी क्याम्पस प्रशासन कार्यकक्षमा आयोजित छलफलपछि सहमती भएका बुदालाई जिम्मेवारीका साथ पुरा गर्ने प्रतिबद्धता गरिएको नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटतीका अध्यक्ष आयुष्मान पोख्रेलले जानकारी दिए । नेता पोख्रेलका अनुसार सहमति पत्रमा विद्यार्थी संगठनका तर्फबाट उठाएका समस्या र मागलाई पुरा गर्न क्याम्पस प्रशासन, क्याम्पस सञ्चालक समिति र विद्यार्थी संगठनहरुले जिम्मेवारका लाग्ने सहमती भएको हो ।

हेर्नुहोसः सहमततीका बुदाहरु–
(१) जेहेन्दार तथा गरीव विद्यार्थीहरुले पाउने छात्रवृतिको सुचना प्रकाशित गरेको २ महिना भित्रमा क्याम्पसको बिद्यान अनुसार बितरण गर्ने । कक्षा १२ को निःशुल्क कक्षाको लागि सिफारिस भएको नामावली ७ दिन भित्रमा प्रकाशन गर्ने ।

(२) आदिवासी जनजाती छात्रवृति कोषबाट चाल आर्थिक बर्षमा बितरण गरिने छात्रवृतिको फारम तत्काल खुलाई बितरण गर्ने ।

(३) मासिक समस्यामा हुने छात्राहरुका अध्ययनलाई सहज बनाउका लागि बनाइएको (चेन्जिङ रुम) लाई संचालनमा ल्याई सकेको हुदाँ त्यसलाई आवश्यकता र औचित्यका आधारमा थप व्यवस्थित गर्दै जाने साथै प्राथमिक उपचार कक्षको व्यवस्थापन गरी संचालन गर्न पहल गर्ने ।

(४) क्याम्पस आवत जावत गर्ने विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई दृष्टिगत गरी स्थानीय यातायात व्यवसायीसंग सहकार्य गरी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई यातायातको सुविधा व्यवस्था गर्न पहल गर्ने । अन्य, यातायातको व्यवस्था नभएसम्मका लागि हाल क्याम्पसमा रहेको सवारी साधान (बस) लाई बिबिए, बिसिए, बिएसडब्लु र विएसईका विद्यार्थीहरुको फिल्ड वर्क लगायतमा ज्ञान आर्जनका लागि व्यवथा मिलाउने ।

(५) क्याम्पसमा रहेको विद्यार्थी कल्याण कोषको रकम क्याम्पसको आर्थीक अवस्थालाई मध्यनजर राख्दै क्रमशः रकम जम्मा गर्दै कोषको रकम पुरा गर्ने ।

(६) क्याम्पस भर्ना अघि लिइने प्रवेश परिक्षामा सर्वोकृष्ट अंक ल्याउने हरेक संकायका १ जना विद्यार्थीहरुलाई छात्रवृति दिन क्याम्पस संचालक समितिमा पहल गर्ने ।

(७) क्याम्पसको बार्षीक कार्यक्रम अन्र्तगतको खेलकुद सप्ताह कोरोना भाइरसका कारणले रोकिएको हुँदा कोरोना भाइरसको संक्रमण घट्दै गएको अवस्थामा यसैबर्षबाट संचालन गर्ने ।

(८) बिगतमा स्ववियूसंग सहमती भई कार्याव्वयन नभएका तपशिलका बुँदाहरु कार्यान्वयन गर्ने ।
(१–१) आन्तरीक मूल्याङकन परिक्षालाई थप व्यवस्थित गर्ने ।
(१–२) पठन पाठन नियमित गर्न समय समयमा कोर्ष अडिट गर्ने ।
(१–३) पुस्कालय तथा प्रयोगशाला व्यवस्थित गर्ने ।
(१–४) इपुस्कालयलाई थप व्यवस्थित गर्ने ।
(१–५) आवश्यकता अनुसार कमजोर विद्यार्थीहरुलाई लक्षित गरी आन्तिरीक कक्षहरु संचालन गर्ने ।
(१–६) क्याम्पसको दुबै सिफ्टमा बिद्यार्थीहरुले पाउने सेवा सुविधा निर्वाधरुपमा पाउने व्यवस्था मिलाउने ।
(१–७ं) स्नातक र स्नानकोत्तर तहमा अध्ययनरत बिद्यार्थीहरुलाई कम्तिमा बर्षमा एक पटक बैकिङ तामिलको व्यवस्था गर्ने । साथै, परियोजना प्रतिवेदन, रिर्पोट लेखनको तालिम दक्ष ब्याक्ति मार्फत संचालन गर्ने ।
(१–८) बिबिए र बिसिएमा अध्ययनरत बिद्यार्थीहरुमध्ये बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरुलाई छात्रवृति दिनका लागि क्याम्पस संचालक समितिमा पहल गर्ने ।

(९) क्याम्पस संचालक समितिमा विद्यार्थीहरुको विषयमा विद्यार्थी सम्बन्धीका महत्वपूर्ण निर्णयहरुमा क्याम्पस प्रशासनले विद्यार्थी संगठनका प्रमुखहरुसँग छलफल गरी निर्णय लिने व्यवस्था मिलाउने आजको छलफलमा सहमती भएको हो ।

छलफलमा क्याम्पस प्रमुख डाक्टर नेत्र बहादुर बुडाथोकी, सहयाक क्याम्पस प्रमुख टंक प्रसाद भट्टराई, राजेन्द्र ढकाल र प्रेमप्रसाद संग्रौलासहित क्याम्पसका प्रशासकीय प्रमुख पदम प्रसाद घिमिरेको सहभागिता थियो । त्यस्तैं, सो छलफलमा क्याम्पस संचालक समिति सदस्य लोमनाथ भण्डारी, मोहन धिमाल र बासुदेब भट्टराई र दमक बहुमुखी क्याम्पस स्ववियू सचिव तथा कार्यवहाक स्ववियू सभापति रोशन भण्डारी र स्ववियू कोषाध्यक्ष सुनिल धिमालको समेत सहभागिता थियो ।

यता, बिद्यार्थी संगठनको तर्फबाट एकीकृत समाजवादीसम्बद्ध अनेरास्ववियू क्याम्पस इकाई कमिटी अध्यक्ष आयुषमान पोख्रेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष निगल राना मगर, राप्रविसंघका अध्यक्ष सोबिम न्यौपाने, अनेरास्ववियूका उपाध्यक्ष युनिष थापा, सचिव रेवतीरमण दाहाल, हेमन्त सिटौला, पूर्व विद्यार्थी नेता संजय राई, राप्रविसंघका निरज फुयल, बासु फुयल लगायतका बिद्यार्थी नेताहरुको सहभागिता थियो ।

यता, आफ्ना मागहरु पुरा गर्ने क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले सहमती जनाएपछि दोस्रो चरणका आन्दोलनहरु फिर्ता लिएको बिद्यार्थी नेता सोविम न्यौपानेले जानकारी दिए ।

गत माघ ४ गते क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई तिन विद्यार्थी संगठनले १० बुदे मागहरु राखेर तिन दिनको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाइएको बिद्यार्थी नेता निगल राना मगरले बताए । सो अल्टिमेटम पुरा नभएपछि ७ माघदेखि १२ गतेसम्म पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको नेता मगरले जनाए ।

विद्यार्थी संगठन र क्याम्पस प्रशासनसहित क्याम्पस संचालक समितिबीचमा सहमती भएपछि कार्यवहाक स्ववियू सभापति समेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का बिद्यार्थी नेता रोशन भण्डारीले विद्यार्थीका जायज मागलाई पुरा गर्ने भएको सहमतीलाई स्वागत व्यक्त गरे । उनले यो आन्दोलनको उपज भएको र यसलाई बिद्यार्थी संगठनको महत्वपूर्ण जीत भएको बताए । नेता भण्डारीले तेस्रो चरणको कोरोना भाइरसको महामारीको समयमा बिद्यार्थीहरुले दिनहुँजसो क्याम्पसमा आन्दोलन गर्नुको औचित्यलाई आज सहमती पत्रमा प्रष्ट पारेको बताए । उनले विद्यार्थी संगठनका नेता र सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *