काठमाडौँ, १८ माघ–मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेल पनि नेपालले जितेको छ ।
आज दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई एक-शून्य गोलले हराएको हो । नेपालका लागि खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै नेपाली किपर किरण चेम्जोङले पेनाल्टी प्रहार बचाए । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मरिससले पाएको पेनाल्टी किरणले रोकेका हुन् ।
खेलको दोस्रो हाफ भने केही तनावग्रस्त बनेको थियो । आजको खेलमा दुवै टोलीका खेलाडीले रेड कार्ड पाए । खेलको ७० औँ मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा सीमित भयो ।
दुवै टोलीका खेलाडीले घम्साघम्सी गरेपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
यस्तै खेलको ७८ औँ मिनेटमा मरिसस नौ खेलाडीमा समेटियो । नेपालका गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए ।
