काठमाडौँ, २० माघ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने स्पष्ट पारेका छन् ।
आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् ।
उनले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सचिव रायमाझीले एमसीसीबारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए । उनले सत्ता महागठबन्धन लोभी पापीहरूको झुण्ड भएको र संसद्को काम कारबाहीलाई सुचारु रूपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए।
‘हामी प्रतिपक्षमा छौँ । एमसीसीबारे सरकारमा रहेको गठबन्धनले के गर्छ रु त्यो टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन, उनले भने, सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । यस्तो सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’
सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए । उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए ।
