दमक, २० माघ–झापा दमकका दृष्टिविहीनहरुले चप्पल उद्योग सुरु गरेका छन् । दमक नगरपालिकाको रु ३ लाख रुपयाँ आर्थिक सहयोगमा चप्पल उद्योग सुरु गरेका हुन् ।
बिहिबार, दमक ८ बालुवाटारस्थित मनकामना टोलमा आज एक कार्यक्रमबीच चप्पल उद्योगको उद्घाटन गरिएको छ । उद्योगमै दृष्टिविहिनहरुले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले चप्पल उद्योगको उद्घाटन गरेका हुन् ।
नगरपालिकाको रु ३ लाख आर्थिक सहयोगले चप्पल बनाउने मेशिन खरिद गरी चप्पल निर्माण कार्य सुरु गर्न थालिएको दृष्टिविहिनहरुले बताएका छन् ।
झापा नेत्रहिन संघकी अध्यक्ष यशोदा बरालको अध्यक्षतामा उद्योगको उद्घाटन भएको थियो । सो अवसरमा संघका उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत मन्तव्य र संघकी सहसचिव शुसिला सापकोटा र कोषाध्यक्ष दिलकुमार राजवंशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्याक्रममा साना घरेलु उद्योग झापाका प्रमुख जयनारायण अधिकारी, अपाङसंघ दमकमा सचीव मदन वोहोरा लगायतले दृष्टिबीहीनले थालेको कार्यको उच्च प्रशंसा गर्दै बजारीकरणमा सवैले सहयोग गर्नु पर्ने बताएका छन् ।
संघकी अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता बरालले चप्पल उद्योगले शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई समेत टेवा पुग्ने बताईन् । दृष्टिविहिन रोशन थापाको अगुवाई शुरु गरिएको चप्पल उद्योगले अपाङगहरु पनि सपाङग जतिकै काम गर्न सक्छन् भन्ने उदाहरण दिन काम थालेको उनीरुले बताएका छन् ।
