काठमाडौं, २२ माघ–कोरोना भाइरसको तेस्रो लहर चाँडै सकिने विज्ञहरूको अनुमान छ । संक्रमित हेरिरहेका चिकित्सकहरूले केही दिनयता ‘रिल्याक्स’ महसुस हुन थालेको बताएका छन् । तेस्रो लहर १६ पुसबाट सुरु भएको थियो । एक महिना पुगेपछि ओमिक्रोन क्रमशः ओरालो लाग्ने क्रममा छ ।
शुक्रबार ११ हजार ७३ नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा संक्रमण देखिएको छ । तर, मृत्यु हुनेको संख्या भने केही बढेको छ । पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार २२ प्रतिशतमा पजिटिभ देखिएको छ ।
दैनिक ५० प्रतिशत संक्रमणदर पुगेको ओमिक्रोन पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । टेकु अस्पतालका आइसियू चिकित्सक डा दिपेश पौडेलले ओमिक्रोनबाट दीर्घरोगीहरू बढी प्रभावित भएकाले मृत्यु हुनेको संख्या केही बढेको बताए । ‘युवाहरूमा समस्या बनाएको हामीले पाएका छैनौँ,’ उनले भने, ‘ओमिक्रोनका एक्टिभ संक्रमित मात्रै ५६ हजारभन्दा बढी छन् । त्यसैले मृत्युको संख्या थोरै बढेको हो ।’
