काठमाडौं, २४ माघ–काठमाडौं उपत्यकामा यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली आज (सोमबार) बाट हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार मध्यराति १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको हो ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर(बिजोर प्रणाली लागू गरिएको थियो । सीसीएमसीको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको थियो ।

सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर भने अघिल्लो हप्ता हटाइए पनि ट्याक्सी र निजी सवारीमा जोर(बिजोर कायम थियो ।

फागुन १ बाट विद्यालय पनि खुल्ने

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै बन्द भएका क्षेत्रहरु पनि खुल्ला गर्ने सरकारले निणर्य गरेको छ । फागुन १ गतेबाट लागु हुने गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न प्रशासनले आदेश जारी गरेको हो । तर विद्यालय सञ्चालन गर्दा प्रशासनले शर्त राखेको छ ।

१२ वर्ष पूरा भएका विद्यार्थीको हकमा नियमित कक्षा सञ्चालन गर्न सकिने भएपनि १२ वर्ष पूरा नभएको विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न भनिएको छ ।

विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्टमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन प्रशासनको आदेश छ । यस्तै सबै प्रकारका परीक्षाहरु जेड आकारमा सिट राखेर सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

यस्तै डान्सबार लगायतका रात्रिकालीन व्यवसाय, स्वीमिङ, जिमखाना, फुटसल, सिनेमा लगायत पनि फागुन १ गतेबाट खोल्न अनुमति दिएको छ । प्रशासनले आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजारमा भने प्रतिवन्ध कायम राखेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *