शिबगञ्ज, २४ माघ–श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर यहाँस्थित जन आदर्श माध्यमिक विद्यालयमा सरस्वती मन्दिरको समुद्घाटन हुने कार्यक्रम बिभिद कारणले गर्न नसकिएको पूर्व विद्यार्थी समन्वय समितिले जनाएको छ ।

पूर्व विद्यार्थी समन्वय समितिको पहल र आर्थिक व्यवस्थापनमा जन आदर्श माध्यमिक विद्यालयमा सरस्वती मन्दिर निर्माण भइरहेको र सो मन्दिर श्रीपञ्चमी अर्थात सरस्वती पुजको अवसरमा उद्घाटन गरिने पूर्व निर्धारित कार्यक्रम थियो ।

विद्यालयको पूर्वतर्फ अवस्थित सरस्वती मन्दिर जीर्ण बन्दै गएपछि नयाँ मन्दिर निर्माणमा पूर्व विद्यार्थीहरुले सक्रियता देखाएका छन् । विद्यालको पश्चिमतर्फको भवनको प्राङ्गणमा निर्माणधिन सरस्वती मन्दिरमा रु १० लाख खर्च हुने अनुमान गरिएको छ ।

मन्दिर निर्माण कार्यमा जुटिरहेको जन आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको साझा संस्था पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष एबम् शिबसताक्षी–६ शिबगञ्जका वडा अध्यक्ष मनोज खुलाल कार्कीले श्रीपञ्चमी अर्थात सरस्वती पुजको अवसरमा समुद्घाटन गर्न नसकिएको बताउनुभयो ।

मन्दिर निर्माणमा आर्थिक समस्या नभएपनि चिसो मौसमको प्रभाव, कोरोना महामारीको संक्रमण, भौतिक सामाग्रीहरुको ढुवानी र प्राविधिकहरुको अभावमा तोकिएको समयभित्र उद्घाटन गर्न सकेनौं, अध्यक्ष कार्कीले भन्नुभयो–”निर्माणकार्य सम्पन्न नहुँदा मन्दिर उद्घाटनमा केही ढिलाई भयो ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष तथा पूर्व विद्यार्थी समन्वय समितिका अध्यक्ष कार्कीले पूर्व निर्धारित कार्यक्रम अनुसार मन्दिर उद्घाटन गर्न नसक्दा मन्दिर निर्माणमा जुट्नुहुने र आर्थिक सहयोग गर्नुहुनेहरुप्रति क्षमा याचना माग्नुभएको छ । वहाँले मन्दिर निर्माणमा कार्यरत प्राविधिक र श्रमिक-मजदुरहरुबीच संक्रमण, चिसो मौसम र स्वास्थ्य प्रतिकुलताले उत्पन्न समस्याबाट तोकिएको समयमा निर्माणकार्य सम्पन्न नभएको बताउनुभयो ।

पूर्व विद्यार्थी समन्वय समितिका सदस्य पार्वता खतिवडा पौडेलले बाल्यकालदेखि युवा अवस्थासम्म अध्ययनरत विद्यालयको बिकास र परिवर्तनमा पूर्व विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहनुपर्नेमा आशा व्यक्त गर्नुभयो । वहाँले पूर्व विद्यार्थीहरुबीच परिचय, एकता, योगदान र सकारात्मक भूमिका सम्बन्धी छलफल गर्न पूर्व विद्यार्थी समन्वय समितिको माध्यमले सहज भएको बताउनुभयो ।

विद्यालयमा निर्माणधिन सरस्वती मन्दिरमा देश र बिदेशमा छरिएर रहेका पूर्व विद्यार्थीहरुको पहल र संयोजनमा आर्थिक सहयोग संकलन भइरहेको छ । अध्यक्ष कार्कीका अनुसार मन्दिर निर्माणमा पूर्व विद्यार्थीहरुबाट रु ७ लाख बराबर आर्थिक सहयोग संकलन भएको छ ।

यता, पूर्व विद्यार्थी समन्वय समितिका सचिव दिनेश कुमार श्रेष्ठले केही समय ढिलाई भएपनि सरस्वती मन्दिर उद्घाटनमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रमसहित गरिने बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *