दमक, २६ माघ–झापाको गौरादहमा आज श्रीमानले चलाएको मोटरसाइकलबाट लडेपछि श्रीमतीलाई ट्रकले किच्दा घटनास्थलमै मृत्यु भएको छ ।
आज दिउँसो गौरादह-१ गुरुङ चौकस्थित गौरादह-पाडाजुंगी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलबाट शिवसाताक्ष-१ की ५३ वर्षीया हिमादेवी दाहाल अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँँदै गरेको म १ ख २६९८ नं धान बोकेको ट्रकले किचेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक मृतकका श्रीमान ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक बाटो छेउमा पल्टेको थियो ।
ट्रक चालक गौरादह–१ का ३६ वर्षीय सन्तोष अधिकारी, मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।
