काठमाडौं, २९ माघ–स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरूले डेमोक्र्याट्रिक सोसलिस्ट एलायन्स (डीएसए) घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलित पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्त मोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीका नेताहरूले संयुक्त रूपमा डेमोक्र्याट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् ।
देशमा भ्रष्टचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीतिक दलहरूले नेपाली जनतामा खुसी ल्याउन नसकेको भन्दै एलायन्सको घोषणा गरिएको एलायन्सका अध्यक्ष सिबी गहतराजले बताए । एलायन्स वैकल्पिक शक्तिका रूपमा उदाउने दाबी पनि गरे ।
उनले साना दलहरूले स्वतन्त्र रूपमा चुनाव लड्नुपर्ने कानुन रहेको भन्दै उक्त ऐनलाई यथाशीघ्र खारेज गर्न माग गरे । उक्त ऐनविरुद्ध आफूहरूले सर्वोच्च अदातलमा मुद्दा हाल्न लागेको जानकारी दिए ।
यस्तै, नेकपा समाजवादीका अध्यक्ष राजु कार्कीले नेपालमा राजनीतिक संस्कारको विकास नै नभएको भन्दै राजनीतिक संस्कारको विकास गर्नका लागि आफूहरूले एलायन्सको आवश्यकता देखेर गठन गरेको बताए ।
गणतान्त्रिक संयुक्त मोर्चा नेपालका संयोजक सुशील राजवंशीले एलायन्स सरकारमा जानका लागि नभएर जनताको आवश्यकता पूरा गर्न बनेको जिकिर गरे ।
