पर्सा, ३ साउन–दक्षिणतर्फ लमतन्न सुमेश्वर पर्वतको थाप्लोमै नेपाल र भारतबीचको ३५ नम्बर सहायक सीमास्तम्भ राखिएको छ। यो पर्वत ६०र६५ किलोमिटर पश्चिममा रहेको वाल्मीकि आश्रमतर्फ फैलिएको छ। सुमेश्वर पर्वतले ठोरीको अमृतधाराभन्दा दक्षिणतर्फ कलकल बगिरहेकी चीता नदीलाई कम्मरमा पटुकी बाँधेजस्तो लाग्छ। बस्तीभन्दा उचाइमा रहेर उत्तरतर्फ फर्किएको यो पर्वत वरबाट हरियाली डाँडा जस्तो मात्र देखिन्छ।
तर, यो पर्वतको विशेषता यति मात्र भनियो भने न्याय नहुने रहेछ। कारण, यसले त आफ्नै पटुकी छेवैमा काखबाट नखस्ने गरी त्रेता युगकी जगतमाता सीताको गुफा सीतागुफालाई पनि कलियुगसम्म बोकिरहेको पो रहेछ। स्थानीय जेष्ठ नागरिकहरूका अनुसार कलियुगका मानिसले सुमेरु पर्वतलाई नै सुमेश्वर पर्वत भन्न थालेका हुन्।
सयौं वर्षसम्म अटुट सुमेरु पर्वत
चीता नदी अटुट बगिरहँदा पनि त्यहाँस्थित भौगोलिक अवशेषहरूलाई अझै क्षयीकरण गरिनसकेको त्यहाँ पुग्ने जो कोहीले नाँगो आँखाले देख्नसक्छ। सयौं वर्ष लामो इतिहास पार गर्दा पनि सीतागुफा जस्तो पवित्रस्थल रहेका कारण सुमेरु पर्वतलाई भग्नावशेष मात्रै मान्ने छुट रहेनछ। यो पर्वत श्रृंखलाका काखमा रहेका चट्टानहरू भने अब भने सँगै रहिरहन सक्ने अवस्था देखिँदैन।
गुफा जाने चट्टानी बाटो। त्यसैले होला-जे हुन्छ, राम्रैका लागि हुन्छ भनिए झैं, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गएको असार २९ गते भानु जयन्तीका अवसरमा ठोरीलाई श्रीरामको जन्मसँग जोडेर अभिव्यक्ति दिन पुगे। वीरगन्जभन्दा पश्चिम ठोरीलाई राम र अयोध्यासँग जोडेपछि देश-विदेशमा प्रधानमन्त्री ओलीमाथि विभिन्न टिकाटिप्पणी भइरहेको छ। तर, यसले विवाद मात्रै जन्माएको छैन, सँगै रामको जन्मस्थल एकीन गर्नका लागि अध्ययनरअनुसन्धानका लागि प्रशस्त आधार तयार गरेको छ।
सीतागुफाको संरक्षण र रामको जन्मको वास्तविकता पनि सुक्ष्म अध्ययन भए उजागर हुने पक्कापक्की छ। इतिहासको वास्तविकता खोतल्न र मानिसको संरक्षणका लागि यो प्रधानमन्त्रीको अभिवेयक्ति शुभ भएर आएको आभास मिलेको ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठ बताउँछन्। भगवान श्रीरामको तपस्याका लागि सीताले गुफामा बस्दा आफ्नै हातले ढुंगामा कपेर बनाएको शिवलिंग कालान्तरसम्म आइपुग्दा कसैले वास्ता गरेनन्। त्रेता युगमा अस्तित्वमा रहेको ‘सीतागुफाु वरिपरि विभिन्न किसिमका चट्टानले कम्पाउण्ड वालको काम गरेको हो कि जस्तो विभिन्न स्वरूपका ढुंगाका आकार अझै देखिन्छन्। त्यहाँका चट्टानको प्रकृति अन्यत्रको भन्दा केही फरकजस्तो पनि देखिन्छ।
मनले चिताएको पूरा हुने भएकाले यहाँको नदीलाई चीता नदी भनिएको हो। चिता र ठुटे खोलाको संगमस्थल गुफाको पूर्वतर्फ छ। दुई नदीको सङ्गमस्थल भन्दा पश्चिमतर्फ रहेको यो पहाडमा एकपटक उठाएर फेरि थपक्क राखेझैं ठूलो चट्टानढुंगो स–साना ढुंगामाथि ट्याक्क अडेको छ। रामायणमा पनि सुमेरू पर्वतको वर्णन छँदैछ। त्यो ढुंगालाई स्थानीयले हनुमानले उठाएको सुमेरू पर्वतको अवशेष भनी ढोग्ने गरेका छन्। नदीमा आएर पूजाआजा गरे मनले चिताएको पूरा हुन्छ भनी विश्वास रहेकाले यो नदीको नाम चीता नदी रहेको ठोरीका ज्येष्ठ नागरिक बताउँछन्। भक्तपुरका भरत ढुंगेल पनि ज्येष्ठ नागरिकको कथनमा दम भएको बताउँछन्।
सबै मिल्दोजुल्दो तथ्य – पुजारी
सीतासँगको यत्रो मिल्दोजुल्दो विषयवस्तु र नजिकै हनुमान नगर, व्रह्मनगर, शिकारीबास, हालको रेयु नदी सरयु नदीको अपभ्रंश नाम, साविकको ठोरीमाडीमा अयोध्यापुरी गाउँ, थोरै पश्चिममा वाल्मीकि आश्रम, त्यहीँ रामका छोरा लव र कुशको जन्म अनि शिक्ष दीक्षा सबै हुनुले श्रीराम अन्यत्रका हुन् भन्ने कुरा नै गलत भएको ठोरीको सीतागुफाका पूजारी चिरञ्जिवी तिम्सिनाले दावी गरे।
रामले अश्वमेघ महायज्ञ गर्दा छोडेको घोडा पश्चिमतर्फ लागेको र वाल्मीकि आश्रममा लवकुशले घोडा समातेर बाँधेको प्रसङ्गले पनि वाल्मीकि आश्रमको पूर्वतर्फको बस्ती साविकको ठोरीमाडी नै भएको यो भन्दा जबरजस्त प्रमाण अरु केही नहुने उनको तर्क छ। तर, यो कुरालाई आधिकारिक पुष्टि गर्न राज्य, पुरातत्व विभाग, धर्मशास्त्रका विज्ञ, अध्ययनरअनुसन्धानकर्ता र शोधकर्ताहरू लाग्नुपर्ने ठोरीवासी बताउँछन्।
रामको जन्मभूमि यो क्षेत्रमा नै पुष्टि भएपनि अन्य ठाउँमा उहाँ प्रतिको आस्था नघट्ने र आजसम्म पुष्टि नहुँदा पनि हिन्दु धर्मावलम्बीहरूले रामलाई मानेकाले अध्ययनरअनुसन्धान हुनुपर्ने उनीहरूको माग छ। ‘जहाँ राम त्यहाँ अयोध्या भनिए झैं हरेक ठाउँमा राम मन्दिर बन्नु र उनीप्रतिको आस्था बढ्नु गलत नभएको उनीहरू बताउँछन्।
जुरमुराउँदै ठोरीवासी
आफ्नै घर छेउमा सीतागुफा, सुमेरु पर्वत, पवित्र दुई नदीको सङ्गमस्थल, अमृतधारा, वाल्मीकि आश्रम, अयोध्यापुरी भएपनि त्यति महत्व नदिएका ठोरीवासी अहिले भने निकै जुरमुराएका छन्। हरेक दिन केही न केही धार्मिक गतिविधि गरिरहेका छन्।
सीतागुफामा शनिबार पनि अमृतधाराबाट कलशयात्रा र भजनकीर्तन गर्ने लगायतका कार्यक्रम तय भएका छन्। ठोरीमा पुग्दा अरू पालिकाहरूमा जस्तो यतिबेला जनप्रतिनिधि र राजनीतिकर्मीबीच खासै बेमेल देखिदैन। सबै आफ्नै ठाउँको धार्मिक विशेषतालाई कसरी सफलीभूत बनाउने रु तथ्यगत निष्कर्षमा कसरी पुग्ने भन्ने सल्लाहमा जुटेका छन्। त्यसको साथै धार्मिक पर्यटकको मन जित्ने थप गतिविधिमा पनि जुटेका छन्।
जनप्रतिनिधि र स्थानीय अगुवा व्यस्त
विभिन्न सञ्चारगृहका पत्रकार र युट्युव च्यानल चलाउनेहरू ठोरीमा केन्द्रित हुन थालेपछि यहाँका जनप्रतिनीधि र अगुवाहरूलाई अहिले राम र सीतासँग जोडिएका विषयवस्तु र तथ्य बताउन भ्याइनभ्याइ छ। यसअघि पर्यटनको विकास गर्न राईधारा, अमृत धारा, तराईमा झोलुंगे पुल, पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीसफारी जस्ता पर्यटक तान्ने प्रचार गर्दै आएका ठोरीवासी अहिले धार्मिक पर्यटक पनि आउने सम्भावना बढेपछि आफ्नो क्षेत्रका तथ्यगत कुरा बुझ्न र बताउन निकै व्यस्त देखिएका छन्।
