विराटनगर, ५ फागुन–प्रदेश १ को नामकरणसम्बन्धमा छलफलका लागि प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठक आह्वान गरेको छ। नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो।

गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकासमन्त्री जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो। सोही समितिको जिम्मेवारीअनुसार आज (बिहीबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकासमन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी रहेका थिए।

बैठकले सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश १ को नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको स्वास्थ्यमन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए। ‘आजको बैठकमा प्रदेशको नाम प्रदेशसभामा प्रस्तुत गर्नुपर्दा सत्तारुढ गठबन्धनका तर्फबाट सहमतिमा प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेका छौं,’ मन्त्री यादवले भने।

मन्त्री यादवले प्रदेश १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिए। उनले सोही बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, ती दलका प्रदेश कमिटी अध्यक्षरसभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने बताए। उनका अनुसार बैठक फागुन १० गते दिउँसो सवा १२ बजेका लागि डाकिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *