काठमाडौँ, ७ फागुन–राप्रपा (नेपाल) को अध्यक्ष भएको दाबी गर्ने कमल थापा विवादमा परेका छन् । राप्रपा (नेपाल) ले अध्यक्ष लाक्पा तामाङले केन्द्रीय समितिको निर्णय भन्दै थापालाई अध्यक्ष बनाएको निर्णय सार्वजनिक गरेका थिए । तर, राप्रपा (नेपाल) का उपाध्यक्ष तेजराज भुजेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष तामाङको निर्णयलाई चुनौती दिएपछि थापा विवादमा परेका हुन् ।

उपाध्यक्ष भुजेको नेतृत्वमा १५ जना सदस्यसहितको शुक्रबार भएको केन्द्रीय समितिको बैठकले पार्टी हित तथा विधान विपरीत कार्य गरेको भन्दै अध्यक्ष तामाङलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।

पार्टीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिएका हुन् । पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय गरेको हो । पछिल्लो समय पार्टीमा देखापरेको विवाद समाधानका लागि पार्टीका नेता प्रदीपविक्रम राणालाई कार्यसमितिको संयोजक बनाउने निर्णय गरेको जानकारी दिइएको छ ।

संयोजक राणाले पार्टीको वैचारिक दृष्टिकोण संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र भएकामा अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक नराखी कमल थापालाई अध्यक्ष बनाएर पार्टीले गणतन्त्रको सिद्धान्त अवलम्बन गरेको अभिव्यक्ति दिएको घटना आश्चर्यजनक भएको तथा नियमसङ्गत नभएको बताए । उनले यस घटनाप्रति कानूनी उपचार खोज्ने क्रममा निर्वाचन आयोगमा निवेदनका साथै पाटनस्थित उच्च अदालतमा कार्य समितिका १५ सदस्यले मुद्दा दर्ता गरिसकेको जानकारी दिए ।

गत मङ्सिरमा राप्रपाको अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका कमल थापाले हालै सो पार्टी परित्याग गरी राप्रपा (नेपाल) को नेतृत्वमा आफू रहेको भन्दै यही फागुन ७ गते शनिबार पत्रकार सम्मेलनको तयारी गरेका छन् ।

राप्रपाको अध्यक्ष रहेका थापा पार्टीको महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । उनले पूर्व राजा ज्ञानेन्द्रको निर्देशनमा आफुलाई अध्यक्षमा हराइएको आरोप लगाउँदै आएका छन् । थापाले केहीदिन अघि राप्रपा परित्याग गरि राप्रपा ९नेपाल०को अध्यक्ष भएका थिए । राप्रपा (नेपाल) को अध्यक्ष घोषित भएपछि उनले राजतन्त्र परित्याग गर्दै हिन्दू धर्ममात्र पार्टीको मार्ग निर्देशक सिद्धान्त हुने बताएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *