काठमाडौं, ७ फागुन–सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेवल गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमत भएका हुन् ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक उच्च नेताले एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल अन्ततः सहमत भएको बताएका छन् । ‘एमसीसी संसदमा टेबल गर्ने विषयमा २(३ दिनदेखि गठबन्धनमा चलिरहेको छलफल निष्कर्षमा पुगेको छ, भोलि संसदमा टेबल हुन्छ’, कांग्रेसका ती नेताले सुनाए ।
यो सहमति अनुसार भोली आइतबार अमेरिकाले अनुदान सहयोगस्वरुप दिएको ५० करोड डलरको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने तयारी भएको छ । यसबारे अन्तिम निणर्य भोलि संसद बैठकअघि बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गर्ने जनाइएको छ ।
आज शनिबार बसेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले यही सहमति अनुसार एमसीसी संसदमा टेबल गर्नुपर्ने निष्कर्ष निकालेको छ । एमसीसीको विषयमा बारम्बार अडान फेर्दै आएका माओवादी र एकीकृत समाजवादीले भोलि बिहानसम्म आफ्नो भनाइ फेरेनन् भने अब संसदमा एमसीसी सम्झौता टेबल हुनेछ ।
प्रचण्ड र नेपालले संसदमा टेबल गर्न सहमति जनाए पनि एमसीसी सम्झौता संशोधन नगरी छलफल र निणर्यार्थ प्रस्तुत गर्न नसकिने अडान भने राखेका छन् । ‘अहिलेको अवस्थामा यो गठबन्धन जोगाउनै पर्ने बाध्यता छ, गठबन्धन जोगाउनकै लागि संसदमा टेबलसम्म गरौँ भन्ने सहमति निकट छौं’, एकीकृत समाजवादीका एक नेताले बैठक सकिएपछि भने ।
अमेरिकाले चार वर्षअघि भएको एमसीसी सम्झौता १६ फागुन ९२८ फेब्रुअरी० भित्र संसदबाट अनुमोदन नभए फिर्ता हुनसक्ने भन्दै अनुमोदन गर्न दबाब बढाएको छ । पाँच महिनाअघि एमसीसीलाई संयुक्त पत्र लेखेका कारण प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड यो दबाबमा छन् । तर माओवादी र एकीकृत समाजवादी पार्टीभित्र संशोधन नगरी एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने मत निकै बलियो छ ।
पार्टीभित्रको यही अवस्थाका कारण माओवादीको संसदीय दलको बैठकले केही दिनअघि संशोधन बिना एमसीसी संसदमा लैजान नहुने, जबरजस्ती अघि बढाए माओवादीले सरकार छाड्ने निणर्य गरेको थियो ।
