विर्तामोड, ९ फागुन–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीबारे नबुझी विरोधमा उत्रिएर उग्रराष्ट्रवाद प्रदर्शन नगर्न आग्रह गरेका छन् ।
आइतबार झापाको विर्तामोडमा सि.के प्रसाईको २८ औं स्मृति दिवसमा आइतवार विर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसीसीबारे स्पस्ट धारणा राख्दै आएको बताए ।
एमसीसीलाई अहिले राष्ट्रघातको रुपमा हेरिए पनि २० बर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भने “एमसीसीको सहयोगबाट विजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई विजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।”
उनले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताए । उनले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे ।
“बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो”, शर्माले भने–“प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठहरु पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन रु रावल र श्रेष्ठलाई म चुनौति दिन चाहन्छु, तपाइहरु सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाइहरु तयार हुनुहुन्छ ?”
उनले देशको समृद्धि र विकास लागि सि।के। प्रसाईको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिब्यक्ति स्वतन्त्रताका लागि जीवनभर संघर्ष गर्नुभएका सिके प्रसाईंले पञ्चायती शासनकालमा लामो समय निर्वासनको सजाय भोग्नुपरेको थियो भने सर्वस्वहरणमा समेत परेका थिए ।
विपीको सान्निध्यमा रहेर राजनीति गर्नुभएका सि.के सिद्धान्त र निष्ठाप्रति अडिग थिए भने विपीले अवलम्बन गरेका प्रजातान्त्रिक समाजवादको आधिकारिक ब्याख्याताका रुपमा समेत सि.के प्रसाईलाई लिइन्थ्यो । समाजवादी विचारकको रुपमा रहनुभएका सि.के.ले आफ्नो जीवनकालमा लेख्नुभएका विचारहरुलाई समेटेर ‘आजको सरल राजनीति र सि.के.का विचारहरु’ नामक कृति प्रकाशन भएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिकेका समकालीन राजनीतिज्ञ एवं नेपाली कांग्रेसका पूर्व सभापति पूर्णानन्द शर्मालाई सम्मान गरिएको छ ।
सम्मानित ब्यक्तिलाई प्रमुख अतिथि शर्मा, प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाई, संगिता प्रसाई, सभापति टिकाप्रसाद प्रसाईंले सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए ।
सोही कार्यक्रमकाबीच सिके चिन्तन प्रतिष्ठानले शैक्षिक क्षेत्रमा प्रारम्भ गरेको सहयोग यसबर्ष अर्जुनधारा नगरपालिका-४ स्थित लक्ष्मी प्राविलाई हस्तान्तरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर डाँगी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठलाई सिके प्रसाइका नाती अनुदान प्रसाईले ५१ हजार राशीको सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा उनका समकालीन एवं सम्मानित ब्यक्तित्व पूर्णानन्द शर्माले सि।के। प्रसाईको अत्यन्तै साधारण जीवनशैली, आदिबासी मूलका नागरिकहरुसँगको सान्निध्यता, एवं उच्च वर्गका ब्यक्तिभन्दा मध्यम र निम्न बर्गका मानिसहरुसँग घुलमेल हुने बानीले पनि त्यसबेला कांग्रेसको संगठन बलियो रहेको बताए ।
कार्यक्रममा पूर्व राज्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले आफू प्रसाई परिवारकै भएपनि सिके को राजनीतिक योगदानका बारे पश्चिम नेपालमा पुग्दा ‘सिकेको विचार पढेर कांग्रेसमा लाग्यौं’ भन्ने सुनेपछि थप प्रभावित भएको बताए ।
कार्यक्रममा पूर्वमन्त्री एवं कांग्रेस नेता दीपकप्रकाश बास्कोटाले विपि कोइरालापछि सिके प्रसाइले प्रजातान्त्रिक समाजवादी विचारको आधिकारिक रुपमै ब्याख्या गरेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकालले सि।के।को जीवनशैली, विचार र सिद्धान्तप्रतिको निष्ठाबाटै आफू प्रभावित भएको धारणा राखेकी थिइन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सिके प्रसाइकै पालामा झापामा कांग्रेसको बैचारिक जग बलियो बनेको बताए ।
कार्यक्रममा विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकाल लगायतले बोलेका थिए ।
