बिर्तामोड, ९ फागुन–झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टामा रहेको एसएस फुटवयर उद्योगमा गएको माघ २० गते भीषण आगलागी भयो । आगो निभाउन मोरङ, सुनसरी, इलामदेखि छिमेकी मुलुक भारतको सिलिगुढीबाट दमकलहरू ल्याइयो ।
माघ २९ गते मेचीनगरकै वडा नम्बर-१४ मा रहेको मनषा थाइफुड प्रा.लि (मगमग चाउचाउ उद्योग) मा आगलागी भयो । छिमेकी जिल्लाबाट समेत दमकल बोलाएर दुई दिनमा मात्र आगो नियन्त्रणमा लिइयो । आगो नियन्त्रणमा लिन जिल्लाका मेचीनगर, बिर्तामोड, भद्रपुर, दमक, गौरादह र कमल गाउँपालिकाका दमकल पनि परिचालित थिए ।
जिल्लामा केही समययता आगलागीका घटनाहरू बढेका छन् । झापाका १५ मध्ये ६ वटा पालिकासँग मात्र दमकल छ । नौ पालिका दमकलविहीन छन् ।
झापाका ६ पालिकामा गरेर १० दमकल छन् । तर, सातवटा मात्र सुचारु अवस्थामा छन् । बाँकी दमकल पुरानो भएर थन्किएका छन् ।
झापामा दमक नगरपालिका, गौरादह नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र कमल गाउँपालिकामा मात्र दमकल छन् । अरू पालिकाहरूले छिमेकी पालिकाको दमकल प्रयोग गर्दै आएका छन् ।
“आगलागी नियन्त्रणका लागि सबै वडामा फायर एबीसी सिलिन्डर वितरण गरेका छौँ । तर, कहिलेकाहीँ त्यसबाट आगो नियन्त्रण नहुँदा कमल र दमकलगायत पालिकाबाट दमकल मगाउने गरेका छौँ । हामीले दमकल खरिद गर्ने पहल पनि गरिरहेका छौँ,” शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले भनिन् ।
अर्जुनधारा नगरपालिकाले एकीकृत विपत् व्यवस्थापन योजनाअनुरूप प्रदेश सरकारसँगको सहकार्यमा दमकल ल्याउने तयारी गरिरहेको नगरप्रमुख हरिकुमार रानाले बताए ।
“हाम्रो नगरको सिस्ने खेलमैदानमा प्रदेश नम्बर–१ सरकार, कनकाई नगरपालिका, बितामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको सहभागितामा एकीकृत विपत् व्यवस्थापन केन्द्रको स्थापना गरिँदै छ । त्यसैले अहिले दमकल खरिद नगरेका हौँ,” नगरप्रमुख राना भन्छन् । एकीकृत विपत् व्यवस्थापन केन्द्रले चारवटा दमकल खरिद गर्ने पनि उनले बताए ।
दमकल चलाउन खर्चिलो भएकाले पनि पालिकाहरूले खरिद गर्न आँट नगरेको देखिन्छ ।
