काठमाडौं, १२ फागुन–सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भयो ।
देउवा निस्किए लगत्तै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड ओलीको कार्यकक्षमा पुगेर भेटवार्ता भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ । देउवा र ओलीबीच बेलुकी ७ बजे फेरि छलफल हुँदैछ ।
एमसीसीका कारण सत्ता गठबन्धन अघि बढ्ने सम्भावना कम भएको भन्दै देउवा छलफलमा लागेका हुन् ।
