काठमाडौं, १४ फागुन–सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी परियोजना मुलुकको आवश्यकता भएको र हितमा रहेको दाबी गरेको छ । एमसीसी संसदबाट पारितका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार र प्रतिपक्षी दलसँग सहयोगको आग्रह गरिरहेका बेला कांग्रेसले यसबारे धारणा सार्वजनिक गरेको हो ।
‘एमसीसीअन्तर्गत अमेरिकी सरकारबाट विकास सहायता लिने नेपाल सरकारको निणर्य नेपालको आवश्यकता र हितमा आधारित थियो’, कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले ट्वीट गर्दै भनेका छन् । उनले नेपालको हितमा निणर्य गर्न कांग्रेस सक्षम रहेको पनि जिकिर गरेका छन् ।
‘हामी नेपालको हितमा निणर्य गर्न सक्षम छौं । हाम्रा अन्य साथीभाइ र विकास साझेदारहरूले यो कुरा बुझ्नु भएको छ भन्ने अपेक्षा गर्दछौं,’ प्रवक्ता डा। महतले उल्लेख गरेका छन् । सरकारले यही फागुन ८ गते प्रतिनिधि सभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबल गरेको छ ।
उक्त प्रस्ताव ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो । त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निणर्य गरेका थिए ।
एमसीसी अनुमोदनको प्रस्ताव पारितका लागि प्रधानमन्त्री देउवा सत्ता साझेदार दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग दिनदिनै छलफल गरिरहेका छन् । उनले आज पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी छ ।
एमसीसी अनुमोदनका लागि कांग्रेसका तर्फबाट भूमिका निर्वाह गरिरहेका एक नेताले आगामी सोमबारसम्म एमसीसी पारित गराउने गरी प्रयास भइरहेको जानकारी दिएका छन् । ‘सोमबारसम्म जसरी पनि एमसीसी पारित गर्ने तयारी प्रधानमन्त्रीको छ’, उनले भने, ‘त्यसका लागि गठबन्धनमा सहमतिको प्रयास भइरहेको छ । सहमति भएन भने एमालेसँग मिलेर भए पनि एमसीसी पास हुन्छ ।’
