काठमाडौं, १४ फागुन–नेकपा (एमाले) का उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता गठबन्धन भत्काउने शर्तमा नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने बताएका छन् ।
गठबन्धन भत्किए पनि एमाले सरकारमा भने सामेल नहुने तर सकेसम्म चाँडो चुनाव हुनुपर्ने शर्त आफूहरुले प्रधानमन्त्री समक्ष राखेको नेम्वाङले बताएका छन् । एमाले सम्बद्ध कानून व्यवसायीहरुको राष्ट्रिय भेलालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उपनेता नेम्वाङले लोकतन्त्र र संविधानविरोधी वर्तमान दुषित सत्ता गठबन्धन भत्काउनु पर्छ भन्नेमा एमाले प्रष्ट रहेको बताए ।
नेम्वाङले भने, ‘मुलुक र जनताको लागि दुषित गठबन्धन भत्काउनु पर्छ भन्नेमा एमाले एकदम प्रष्ट छ । तर यो भत्किएर हामी सरकारमा जाँदैनौं । हामीले प्रधानमन्त्रीलाई प्रष्टसँग भनेका छौं, हामी सरकारमा जाँदैनौ । निर्वाचनसम्म सरकार चलाउनुस्, हाम्रो कुनै पनि शर्त छैन तर एउटा कुरा चाहिँ एकदिन पनि चुनाव ढिला गर्न पाउनु हुन्न । बरु दलहरुसँग कुरा गरेर अलि चाँडै चुनाव गर्नुपर्छ भनेका छौं ।’
