काठमाडौं, १६ फागुन–पशुपति विकास कोषले पशुपतिनाथ मन्दिर क्षेत्रका अधिकांश ठाउँमा महाशिवरात्रिका लागि सजाएर झिलिमिली बनाएको छ। भोलि फागुन १७ गते महाशिवरात्रि परेको छ। पशुपतिनाथ मन्दिर परिसरलाई सुन्दर बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका थिए।
महाशिवरात्रिको पूर्व संन्ध्यामा पशुपति क्षेत्र फूल र बिजुली बत्तीले रङ्गीचङ्गी पारेर सजाइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको र यसका लागि करिब ५० लाख रूपैयाँ खर्च भएको बताएको छ। पशुपति क्षेत्रका भित्तामा भगवान् शिव र पार्वतीका चित्र केही दिनअघि नै बनाइसकिएको थियो।
महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको छ। महाशिवरात्रिका लागि भारतका विभिन्न ठाउँबाट आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ। कोषले हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत विभिन्न ठाउँमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरेको जानकारी दिएको छ।
