दमक, १७ फागुन–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीयसहित प्रदेश र जिल्ला तहका नेता–काषएकर्ताहरुले आज झापाको दमकमा एक कार्यक्रमको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सो क्रममा लोसपाले संसदमा एससीसी अनुमोदन गराउन दिएको समर्थनप्रति उनीहरुले बिरोध जनाउदै पार्टी परित्याग गरेको घोषणा गरको हुन् ।
दमकमा मंगलवार पार्टीका असन्तुष्टहरुले पत्रकार सम्मेलन गरि सामूहिक रुपमा पार्टी त्यागेका घोषणा गरेका हुन् । उनीहरुले पार्टीभित्र कुनै छलफल नै नगरि अन्धाधुन्द ढंगवाट आफना पार्टीका सांसदले एमसीसीका पक्षमा मतदान गरि अनुमोदन गराउन सहयोग पुरयाँएको भन्दै सामूहिक पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी पार्टी त्याग गर्नेमा पार्टीका केन्द्रीय नेता प्रेमदिप थाम्सुहाङ, लोसपा प्रदेश १ का अध्यक्ष फक्तालुङ योङहाङ, वरिष्ठ उपाध्यक्ष शरणहाङ जवेगु, सचिव दिपेश पालुङवा, लोसपा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष रन्जन सुब्बा, उपाध्यक्ष गजेन्द्र लावती, किरात खम्बुवान राष्ट्रिय समितिका संयोजक हर्कराज राई, लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
५१ जनाको सामूहिक हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,-‘एमसीसी परियोजना देशका लागि राष्ट्रघात भएको र त्यसमा पार्टी उभिएकाले स्वाभिमानी कार्यकर्ताहरुले आजका मितिदेखिनै साधारण सदस्य समेत नरहने गरि पार्टी त्याग गरेका घोषणा गर्दछौ ।’
यसैवीच, पार्टी त्यागेकाहरुले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नेता थाम्सुहाङको नेतृत्वमा उनीहरुले राष्ट्रिय एकता पार्टी नेपाल घोषणा गर्ने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार यहि फागुन २१ गतेनै दमकमा एक कार्यक्रम गरि नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ ।
