काठमाडौं, १८ फागुन–नेकपा (एमाले) का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। अध्यक्ष ओलीले मंगलबार भीम रावल पार्टी हिरो बन्न खोजेको टिप्पणी गरेपछि उनले त्यसको जवाफ फर्काएका हुन्।
ओलीले भीम रावल पार्टीको धारणा वा पार्टीको काम कारबाहीभन्दा पृथक् ढंगले आफूलाई प्रस्तुत गरिरहेको भन्दै आलोचना गरेका थिए।
तर, नेता रावलले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरूप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैँ देशको पक्षमा बोलेर ‘महाहिरो’ हुन आग्रह गरेका छन्।
ओलीलाई जवाफ फर्काउँदै उनले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’
देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुने उल्लेख गरेका छन्।
ओलीले रावललाई भनेका थिए, ‘मैले पार्टीको संसदीय दलको बैठकमा पनि भनेको थिएँ। आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने त्यस खालका कुरा, काम कारबाही त्यस खालको विचार र कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् वा लोकतन्त्रको होस् अरू बहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्। त्यसका विरुद्ध पृथक देखिएर गरिने क्रियाकलाप अनुशासनभित्र पर्दैनन्।’
