काठमाडौँ, २० फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताएका छन् । महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि पूर्व राजा ज्ञानेन्द्रले आफूलाई षड्यन्त्र गरेर हराएको आरोप लगाउँदै थापा राप्रपाबाट अलग भए । कमल थापाले राप्रपा नेपाल ब्युँताएनन् मात्र उनले राजतन्त्रको एजेण्डा नै त्यागेका छन् । उनले पार्टीको मूल सिद्धान्त हिन्दू धर्मलाई मात्र बनाएका छन् । कमल थापा राप्रपा नेपालको पुर्नगठनका लागि देश दौडाहमा सक्रिय छन् ।

बिगतमा पूर्व पञ्च र राजावादीको पार्टीमा सबै भन्दा प्रभावशाली पार्टी कमल थापाले नेतृत्व गरेको राप्रपा नै थियो । तर, महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी पुर्नगठन गरेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपालगन्ज, झापा, म्याग्दी, धादिङ, डोल्पा, बाग्लुङलगायत क्षेत्रका स्थानीय तहहरुमा नेतृत्वदायी भूमिकामा रहेको राप्रपाको प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिट छ । दोस्रो संविधानसभामा मुलुकको सदनमा ३७ सिटको साथ चौथो ठूलो दल बनेको राप्रपा पछिल्लो समय पार्टी फुटको शिकार बनेको छ ।

राप्रपाको गएको मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण भएपनि त्यो दिगो हुन सकेन । फूटको अर्को श्रृंखलाले निरन्तरता पायो । थापा र नवनिर्वाचित अध्यक्ष लिङ्देनबीच तिक्तता बढ्दै गयो । थापाले पार्टी छाडेर अलग मात्र भएनन्, राप्रपा नेपाल नै पुर्नगठन गरेपछि राप्रपाका सामू फूटबाट जोगिने चुनौती रहेको छ । दोस्रो संविधानसभामा वैकल्पिक पार्टी बनेको राप्रपा संविधान निर्माण पछि भने सत्ता लालचले नागरिकको आकर्षण घटेको छ ।

राप्रपा भने पार्टी रूपान्तरणको अभियानमा रहेको घोषणा गरेको छ । भ्रष्टचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । अध्यक्ष लिंगदेनले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई पार्टीमा प्रवेश गराउन केन्द्रित भएका छन् ।

हिन्दूराष्ट्र, राजसंस्थाको पक्षपाती राप्रपाले रीतिरिवाज, परम्परा, संस्कृतिको रक्षा गरेर पनि समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने धारणा राख्दै आएको छ । गत मंसिरमा सम्पन्न महाधिवेशनमा २० औं वर्षदेखि पार्टी नेतृत्वमा रहेका कमल थापालाई पराजित गर्दै अध्यक्ष बनेका राजेन्द्र लिङ्देन भन्नुहुन्छ– ‘हामी सुशासनको हिमायती पनि हौं ।’

अध्यक्ष लिङ्देन फूटबाट प्रभाव कम गर्न विभिन्न व्यक्तिलाई पार्टी प्रवश गराउने र वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने रणनीति बनाएका छन् । राप्रपा नेपालका अध्यक्ष थापाले भने निर्वाचनको तयारी र पार्टी निर्माण कार्यलाई अघि बढाएका छन् ।

राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ संगठन विस्तारमा लागेको छ । राप्रपाले स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने भएपनि कतिपय स्थानमा अन्य दलसँग तालमेल गर्न सकिने रणनीति बनाएको छ ।

दुबै राप्रपाबीच पार्टी निर्माण र पुर्नगठन मुख्य चुनौती रहेको छ । पुरानो पार्टीका कार्यकर्ता दुई पार्टीमा बाँढिदा मतदातामा फूटको मनोवैज्ञानिक प्रभाव पर्ने भएको छ । राप्रपा पुरानो स्थानमा वा अध्यक्ष लिङ्देनले भने जस्तो चौथो शक्ति बन्न सक्ने कुरामा प्रश्न उठेको छ ।

यसैगरी कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालको भविष्य के होला भन्ने कुरा स्थानीय तहको निर्वाचनले संकेत गर्दछ । राजावादी र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउने पार्टीमा भएको विभाजनको भरपाई कसरी हुन्छ, त्यो अहिले नै भन्न सकिन्न ।

राप्रपा कार्यकर्ता जोगाउने र फाकाउने रणनीतिमा छ भने राप्रपा नेपाल पुराना कार्यकर्तालाई समेटेर पार्टी पुर्नगठन गर्ने अभियानमा छ ।

दुई राप्रपाबीच कार्यकर्ता तानातानको अवस्थामा छन् । राप्रपा अघिल्लो स्थानीय निर्वाचनमा पएउएको उपलब्धी जोगाउला वा अझ बढाउला उसले लिने रणनीतिमा भर पर्दछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *